Logo

कांग्रेसको टिप्पणी: जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने सम्भावना भएको प्रचण्डलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले कमजोरी गर्‍यौं कि !



काठमाडौं,२८ असार । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राजनीतिक अस्थिरताको अन्त्य गर्नका लागि दुई ठूला राजनीतिक दलहरु मिलेको दाबी गरेका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक विश्वासको मत लिँदै गर्दा सदनको काम नै प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको र त्यस्लाई अन्त्य गर्न दूई ठूला दल मिलेको दाबी गरे । उनले प्रधानमन्त्रीले महिनैपिच्छे विश्वासको मत लिँदा जिम्मेवारी आफैंँले लिनुपर्ने बताए ।

‘हाम्रो काम नै सदनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने भयो । प्रधानमन्त्रीको १८ महिनाको कार्यकालमा हालसम्म पाँचौपटक विश्वासको मत लिनुपर्ने वातावरण बन्यो । यसरी हेर्दा हरेक ३ महिनामा एक पटक विश्वासको मत लिनुपर्ने भयो । प्रधानमन्त्री पटक पटक विश्वासको मत लिने अनि जिम्मेवारी हामीले लिनुपर्ने ?’ उनले प्रश्न गर्दै भने ।

फरक प्रसंगमा प्रमुख सचेतक लेखकले दुई ठूला दल मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर हुन्छ भन्ने भाष्यलाई चिर्न माओवादीले प्रतिपक्षी दलको नेताको भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले प्रचण्ड जवरजस्त प्रतिपक्षी दलको नेता हुन सुहाउँदो व्यक्ति भएको तर, गल्तीले लामो समय प्रधानमन्त्री बनाएको टिप्पणी गरेका छन् ।

उनले भने, ‘संसदीय व्यवस्थामा दुई ठूला राजनीतिक दलहरु मिले भने प्रतिपक्ष कमजोर होला भन्ने चिन्ता भइरहेको देखिन्छ, तर आज प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा यो रोष्ट्रममा उभिँदा मैले प्रमुख प्रतिपक्ष दलको नेताको रुपमा देखिसकेकाले अब सदनमा प्रतिपक्ष कमजोर हुन्न भन्ने लाग्छ । बरु एउटा गल्ती भएछ कि ? यस्तो जबरजस्त प्रतिपक्ष दलको नेता हुनसक्ने सम्भावना भएको व्यक्तिलाई लामो समयसम्म प्रधानमन्त्री बनाएर हामीले हिजोअस्ति कमजोरी गर्‍यौं कि !’

पीडामा भएको व्यक्तिमाथि थप टिप्पणी गर्नु भनेको झन् पीडा थप्नु भएकाले आलोचना नगर्ने उनले बताए । प्रतिपक्ष दलको नेताका रुपमा प्रचण्डलाई देखिसकेकाले सदनमा प्रतिपक्षीय शक्ति कमजोर नहुने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्