Logo

मध्यरातमा भएको सहमतिलाई राष्ट्रिय सहमतिको रुपमा स्वीकार्न सकिँदैनः हितराज पाण्डे



काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले कांग्रेस–एमालेबीच मध्यरातमा भएको सहमतिले राष्ट्रिय सहमतिको स्वरुप पाउन नसक्ने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेले मध्यरातमा सहमति गरेको र उक्त सहमति आजसम्म पनि गुपचुप राखेको भन्दै आपत्ति जनाए ।

‘राष्ट्रिय सहमतिको पनि कुरा आए । राष्ट्रिय सहमति त दलका नेताहरुको बीचमा बसेर गर्नुपर्ने होला नि ? राष्ट्रिय सहमति त एक दुई जना बसेरमात्रै त गर्ने होईन होला । संविधानलाई पछि फर्काउने कुरा हुन्छ भने जनतालाई अपिल गर्नुपर्ने हुन्छ,’– उनले भने ।

साथै, उनले सुशासनको एजेण्डालाई सरकारले अगाडि बढाउँदै गर्दा आजको अवस्थामा आइपुगेको बताए । नेता पाण्डेले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा प्रकरण र सुन तस्करीलगायतका मुद्दामा सरकार दृढतापूर्वक अगाडि बढेको उनको दाबी छ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपित बेचन झा पक्राउ परेपछि कांग्रेस–एमाले झस्किएको उनको भनाइ छ ।

‘भुटानी शरणार्थीको कुरा होस्, ललिता निवासका कुरा होस् अथवा सुन तस्करीका कुरा होस् । खास गरेर सुशासनसँग सम्बन्धित विषय सरकारले दृढताका साथ अगाडि बढाउन थाल्यो । बेचन झालगायतको जब गिरफ्तारी हुनथाल्यो । त्यसपछि यो प्रक्रिया अगाडि बढ्यो भन्ने मलाई लाग्छ । यो विषय वस्तु आम जनतामा स्थापित भएको विषय वस्तु हो,’– उनले भने । Photo By: Mukunda kalikote/RN



प्रतिक्रिया दिनुहोस्