Logo

ढल्यो प्रचण्ड सरकार, पाएनन् विश्वासको मत



काठमाडौं,२८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएपछि सरकार ढलेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा संविधानको धारा १०० को उपधारा २ अनुसार दाहालले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै सरकार ढलेको छ ।

आज भएको मतदानमा कूल उपस्थित सांसद्को संख्या २५८ रहेकोमा प्रचण्डको पक्षमा ६३ र विपक्षमा १९४ मत परेको सभामुख देवराज घिमिरेले घोषणा गरे । एक मत भने तटस्थमा परेको थियो ।

असार १७ गते नेपाली कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको थियो। उनीहरूबीच आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति भएको थियो ।

दुई ठूला दलबीच नयाँ सरकार बनाउने विषयमा सहमति भएपछि सरकारमा रहेका एमाले, जनता समाजवादी पार्टीका मन्त्रीहरूले समर्थन फिर्ता लिँदै राजीनामा दिएका थिए। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले आज विश्वासको मत लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्