Logo

राष्ट्रपतिले संविधान मिच्नुहुँदैन, ७६ (३) अनुसार नै सरकार गठन हुन्छः माधव सापकोटा



काठमाडौं, २८ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले अब बन्ने सरकार संविधानको धारा ७६ को उपधारा ३ अनुसार हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संवैधानिक व्यवस्थाअनुसार अब सबैभन्दा ठूलो दलको संसदीय दलका नेता प्रधानमन्त्री बन्नुपर्ने बताएका हुन् ।

‘संविधानमा के कुरा स्पष्ट छ भने प्रधानमन्त्रीले राजीनामा नदिएर संवैधानिक अधिकार र अभ्यास हामीले जे गर्यौं, त्यसपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार नै सरकार बन्नुपर्ने संवैधानिक व्यवस्था छ,’– उनले भने ।

साथै, उनले आफूहरुले संविधानको धारा ७६ (३) अनुसार सरकार गठनको आह्वान हुनुपर्ने माग राख्ने पनि बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्वासको मत नपाएसँग राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी गराउन शीतल निवास गएको पनि उनले जानकारी गराए ।

‘हामी यसकैको माग सम्माननीय राष्ट्रपतिसँग गर्छौं । हामीलाई के आशा, अपेक्षा छ भने सम्माननिय राष्ट्रपतिले संविधानलाई मिच्नुहुन्छ । संविधानको पालना गर्नु उहाँको कर्तव्य हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्