Logo

प्रदेश संरचना चाहिँदैन भन्ने जनमत ८० प्रतिशतभन्दा बढी छः शेरबहादुर तामाङ (भिडिओसहित)



काठमाडौं, २९ असार । नेकपा (एमाले) का नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले प्रदेश संरचना चाहिँदैन भन्ने जनमत ८० प्रतिशतभन्दा बढी रहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालमा दुई तहको संघीय संरचनाको बारेमा बहस चलाउन आवश्यक रहेको बताए । प्रदेश संरचनाबारे जनतामा धेरै आक्रोश रहेको उनले बताए । कांग्रेस–एमाले गठबन्धनमा अब बन्ने सरकारले यसमा बहस चलाएर जनताको अभिमतका आधारमा संविधान संशोधनको पक्षमा जानुपर्ने बताए ।

‘प्रदेशको हकमा जनमत संग्रहमा जाउँ न त जनताको बीचमा भन्ने हो भने कसैले फूर्ती नलगाए हुन्छ, प्रदेश चाहिँदैन भन्ने पक्षमा जनमत ८० प्रतिशत पुग्छ,’– उनले भने ।

कांग्रेस–एमालेले जनताको यस्ता जनभावना बुझेर राष्ट्रिय सहमतिको सरकारको आह्वान गरको बताए । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेको प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा फेरि द्वन्द्वतर्फ नै जान्छौं भन्ने खाल्को अभिव्यक्ति दिएको बताउँदै उनले आफूहरुले भने सबै दलको सहमतिमा संविधान संशोधनको निर्णय गर्न चाहेको बताए ।

साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूले ठूलो स्वरमा बोलेपछि सबै कुरा सत्य स्थापित हुन्छ भन्ने सोचेको उनले टिप्पणी गरे । नेता तामाङले उपप्रधान एवं गृहमन्त्रीजस्तो मान्छेले संसद्मा सूचना बेच्नेहरु छन् भनेर अभिव्यक्ति दिइ स्थापित गराउन नसकेको बताए । सरकारले बोलेपछि पुर्याउनुपर्ने उनको भनाइ छ । लामिछानेमा गलत कुरालाई पनि सही नै पो हो कि क्यारे भन्नेगरी प्रस्तुत गर्ने कला रहेको बताए ।

‘ठूलो स्वरले मैले कराएपछि त्यही स्थापित हुन्छ भन्ने उहाँको गलत दृष्टिकोण छ । राष्ट्रको गृहमन्त्रीले यही संसद्मा सूचना बेच्ने माननीयहरु छन् भनेर राख्नुभयो । मैले पनि त्यतिबेला आफ्नो प्रतिक्रिया राखेको थिएँ । त्यो सरकारले बोलेको हुन्छ । सरकारले बोलेपछि पूर्याउनुपर्यो । ठूलो स्वरले मैले कराएपछि यही कुरा स्थापित हुन्छ भन्ने उहाँलाई लागेको होला । केही समय त हो कि क्यारे भन्ने लाग्छ । तर, वास्तविकतामा उहाँले पनि थाहा पाउनुहुन्छ मैले बोलेरमात्रै स्थापित हुन्छ भन्ने होईन । गलत कुरालाई पनि सही हो भन्ने हिसाबले प्रस्तुत गर्न सक्ने कन्फिडेन्स उहाँमा छ । त्यो शैलीका कारण मान्छेलाई हो कि क्यारे भन्ने पर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्