Logo

कालो धन्दा ढाकछोप गर्न एमाले-कांग्रेस मिल्नुको विकल्प थिएनः माओवादी नेता शाही



काठमाडौं, २९ असार । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले विगतका कालो धन्दा र भ्रष्टाचार बाहिर आउने डरले कांग्रेस–एमाले एक ठाउँमा आएको टिप्पणी गरेका छन् । आज (शनिबार) सुर्खेत विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले कांग्रेस–एमालेले स्थिरताको नाममा विगतमा गरेका कालो धन्दा ढाकछोप गर्न खोजेको बताएका हुन् ।

‘आफूहरूले गरेको कालो धन्दाको ढाकछोप गर्नका लागि मिलेका हुन् । ढाकछोप गर्न सत्तामा जाने बाहेक अर्को विकल्प नभए पनि उनीहरुले यसो गरे,’– नेता शाहीले भने ।

नेता शाहीको कांग्रेस–एमालेलाई अरु कोहीले मिलाएको दाबी गरे । उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि कांग्रेस–एमाले अत्तालिएको बताए । नेता शाहीले कांग्रेस–एमालेको सहमति अमुक व्यापारीको घरमा भएको बताउँदै गठबन्धन कपटपूर्ण रहेको दाबी गरे । अस्थिरताको अन्त्य भन्दा पनि देशमा निरङ्कुशता लाद्ने गरी कांग्रेस–एमालेको गठबन्धन बनेको उनको दाबी छ ।

नेता शाहीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली संघीयता र गणतन्त्रको घोर विरोधी रहेको आरोप लगाए । आफू मुख्यमन्त्री भएको बेला प्रदेशको एक कार्यक्रममा ओलीले प्रदेश संरचनालाई प्रशासनीक निकाय भनेको बताउँदै नेता शाहीले उनले संघीयता अझैंसम्म पनि नस्वीकारेको बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्