Logo

अल्पमतमा रहेका मुख्यमन्त्री सोडारीलाई सकसः कांग्रेस, एमाले र नाउपाले माग्यो राजीनामा



काठमाडौं, २९ असार । नेपाली कांग्रेस, नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको राजीनामा माग गरेका छन् । आज (शनिबार) धनगढीमा संयुक्त पत्रकार सम्मेलन गरी तीन दलका नेताहरुले मुख्यमन्त्री सोडारीको राजीनामा माग गरेका हुन् । कांग्रेस–एमाले गठबन्धन बनेपछि एमालेले सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिएको थियो । मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने कुनै सम्भावना छैन ।

सुदूरपश्चिम कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेकाले सरकारमा बसेर निर्णय गर्ने अधिकार नरहेको बताए । उनले मुख्यमन्त्री सोडारीले कानुनी प्रावधान हेरेर ३० दिन कुर्सीमा बसिरहन नमिल्ने बताए । राजनीतिक परिस्थिति हेरेर मुख्यमन्त्री सोडारीले राजीनामा दिनुपर्ने उनको भनाइ छ । मुख्यमन्त्री सोडारीले बहुमत प्राप्त गर्न सक्ने अवस्था पनि नरहेको बताउँदै नेता शाहीले त्यस्तो अवस्थामा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

एमाले संसदीय दलका उपनेता सन्तोष थापाले मुख्यमन्त्री सोडारीलाई नैतिक रुपमा सरकारमा बस्न नसुहाएको बताए । मुख्यमन्त्री सोडारीले नयाँ गठबन्धनको सरकार बनाउन मार्ग प्रशस्त गर्नुपर्ने उनको भनाइ छ ।

नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले मुख्यमन्त्री सोडारी अल्पमतमा परेको र मुख्मन्त्रीले विश्वासको मत लिन खोजे मत नदिने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्