Logo

कांग्रेसले योगदान र योग्यता नभएकालाई मन्त्री नबनाउने



काठमाडौं, २९ असार । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड बनाएको छ । आज (शनिबार) बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा योगदान र योग्यतालाई मुख्य आधार मान्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।

‘कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा योगदान र योग्यताको आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय भएको छ,’– बैठकको निर्णय सुनाउँदै उनले भने ।

त्यस्तै, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरोका कारण बस त्रिशुली नदीमा खस्दा करीब ५ दर्जन यात्रुहरूको अवस्था अज्ञात रहेको घटना, कास्कीमा एकै परिवारका ७ जना सहित ११ जना मृत्यु भएको घटना तथा अविरल वर्षाका कारण देशका विभिन्न भू–भागमा बाढी, पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षतिप्रति कार्यसम्पादन समिति बैठक दुःख व्यक्त गरेको छ । युद्धस्तरमा उद्धार, वेपत्ता भएकाहरूको खोजी, नागरिकलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न कांग्रेसले आग्रह गरेको छ ।

सडक दुर्घटनाको दुःखद अवस्था अन्त्य गर्न सरकारले पर्याप्त अध्ययन गरी सडक दुर्घटना न्यूनिकरण सम्बन्धी आवश्यक कानूनी व्यवस्था गर्न संसदमा अविलम्व विधेयक प्रस्तुत गरेर सो बमोजिमको व्यवस्था कडाइका साथ लागु गर्न कांग्रेस कार्यसम्पादन समिति बैठकले माग गरेको छ ।

बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सदस्यहरू चित्रलेखा यादव, अर्जुननरसिंह केसी र रमेश लेखकले आफ्नो धारणा राखेका थिए ।Photo By: Mukunda Kalikote/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्