Logo

सिमलताल बस दुर्घटना अपडेटः थप दुई व्यक्तिको शव फेला



काठमाडौं, २९ असार । चितवनमा भएको बस दुर्घटनको खोजी कार्यका क्रममा थप दुई व्यक्तिको शव फेला परेको छ । पूर्वी नवलपरासीको गैंडाकोटस्थित थुम्सीमा नारायणी नदी किनारमा दुई जनाको शव भेटिएको हो । तर, ती व्यक्तिहरु यात्रु हुन् वा होईनन् भन्ने खुल्न बाँकी रहेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलकानुसार नवलपुरतर्फ नारायणी नदीको बीच भागको टापुमा दिउँसो ३ः३० बजेको समयमा शव फेला परेका हुन् । नदीले बगाएर ल्याएका अन्दाजी २५/३० वर्षका पुरुषको शव फेला परेको स्थानीय बोटेहरूले जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट प्रहरी निरीक्षक हस्तबहादुर सुनारको नेतृत्वमा खटेको पाँचजनाको टोलीले अर्को शव पनि फेला पारेको पौडेलले बताए ।

पहिलो शवभन्दा करिब १० फिटको दूरीमा करिब १८/२० वर्षको देखिने अर्का पुरुषको शव फेला परेको र दुवै शवको प्रारम्भिक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । शव चितवनको भरतपुर–२७ सिमलतालमा पहिराका कारण शुक्रबार बेपत्ता बसका यात्रु हुनसक्ने भन्दै अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।

चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा शुक्रबार आएको लेदोसहितको पहिरोका कारण यात्रुसहित त्रिशूली नदीमा दुई बस खसेका थिए । दुर्घटनालगत्तै शुक्रबार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै तालिमप्राप्त समूह दिनभर खोजी कार्यमा खटिएका थिए । आज पनि खोजीकार्य जारी राखिएको थियो । यात्रु खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एउटा मोटरबोट, गोताखोर टोलीलगायत परिचालन गरिएको छ । शुक्रबार भेटिएका कपडालाई आधार बनाएर आज खोजबिन गरिराखीको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिरोले त्रिशूलीमा बगाएको थियो । बसमा सवार तीन जना पौडिएर ज्यान जोगाउन सफल भएका थिए ।

उक्त दुर्घटनामा परेका एक यात्रुको शव आज विहान फेला परेको थियो । ती यात्रुको भने सनाखत भइसकेको छ । उनी भरतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्