Logo

प्रधानमन्त्रीमा ओलीले शपथ लिएकै दिन सबै मन्त्रीलाई शपथ गराउने तयारी, मन्त्री छान्दै कांग्रेस-एमाले



काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ अनुसार ओली नयाँ प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभामा राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै नयाँ प्रधानमन्त्री नियुक्तिको बाटो खुलेको थियो । प्रचण्डले विश्वासको मत नपाएर सरकार ढलेलगत्तै राष्ट्रपति रामचन्द्र पौडेलले धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

राष्ट्रपतिले आज साँझ ५ बजेसम्मको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेपछि शुक्रबार नै नेपाली कांग्रेस र नेकपा एमालेले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै दाबी पेश गरेका थिए । सो दाबी अनुसार ओली आज चौथो पटक प्रधानमन्त्री नियुक्त हुन लागेका हुन् । आज नियुक्त हुने ओलीले सोमबार बिहान ११ बजे प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम राष्ट्रपति कार्यालय शीतलनिवासले तय गरेको छ ।

यसैबीच ओलीले प्रधानमन्त्रीको शपथ लिएकै दिन भोलि नै सकेसम्म सबै मन्त्रीहरुलाई शपथ गराउने तयारी भएको छ । एकै पटक सबै मन्त्रीको शपथ गराउनकै लागि ओलीको शपथ भोलिका लागि सारिएको स्रोतले जनाएको छ । सत्ताका मूख्य दुई घटक दल नेपाली कांग्रेसले १० र एमालेले ९ मन्त्री पाउनेगरि सैद्धान्तिक सहमति जुटेको छ । यी दुवै दल केही दिनदेखि लगातार मन्त्री छान्नको लागि कसरत गरिरहेका छन् ।

कांग्रेसबाट हालसम्म प्रकाशमान सिंहले सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । तर, उनले संघीय मामिला वा सहरी विकास कुन मन्त्री पाउने भन्ने टुंगो लागेको छैन् । सिंहबाहेक कांग्रेसबाट रमेश लेखक गृह र आरजु राणा देउवा परराष्ट्रमन्त्री हुने करिब टुंगो लागेको छ । त्यस्तै सहमहामन्त्री जीवन परियार, सांसद अजय चौरासिया, किशोरसिंह राठौर, प्रदीप पौडेल, चन्द्र भण्डारी, प्रतिमा गौतम, तेजुलाल चौधरी, कान्तिक सेजुवाललगायतका सांसद मन्त्रीको दौडमा छन् ।

यता सत्ताको नेतृत्व गर्ने दल एमालेबाट पनि हालसम्म उपाध्यक्ष विष्णु पौडेलले सरकारको नेतृत्व गेर्न टुंगो लागेको छ । उनी उपप्रधान तथा अर्थमकन्त्री बन्नेछन् । पौडेलबाहेक, छविलाल विश्वकर्मा, योगेश भट्टराई, विद्या भट्टराई, पृथ्वीसुब्बा गुरुङ, पदम गिरी, लिलानाथ श्रेष्ठ, जुलीकुमारी महतो, सुनिता बराल, दीपा शर्मालगायतका सांसद मन्त्रीको दौडमा छन् ।



प्रतिक्रिया दिनुहोस्