Logo

रमेश बडालले खुलासा गरे कांग्रेस-एमालेबीचको ७ बुँदे सहमति, पावर शेयरिङ बराबरी, अन्य के-के ?



काठमाडौं, ३० असार । नेकपा (एमाले) का नेता एवं पूर्वमहान्यायाधिवक्ता रमेश बडालले राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि एमाले–कांग्रेस गठबन्धन बनेको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विकास निर्माण, राजनीतिक स्थायित्व र संविधान संशोधनलाई कांग्रेस–एमालेले मूल एजेण्डा बनाएको उनले बताए ।

कांग्रेस–एमालेबीच भएको सात बुँदे सहमति अहिलेसम्म बाहिर नल्याइएको विषयमा उनले मूलतः तीन विषयलाई एजेण्डा बनाइएको बताए । कांग्रेस–एमालेबीच भएको सहमतिको मस्यौदाकारसमेत रहेका बडालले राजनीतिक स्थायित्व, पावर शेयरिङ र संविधान संशोधनलाई विशेष महत्व दिइएको बताए । उनले कांग्रेस–एमालेबीच बराबरीको हैसियतमा वापर शेयरिङ हुने कुरा सहमतिमा उल्लेख गरेको पनि बताए ।

‘राजनीतिक स्थायित्वसँग सम्बन्धित विषय, राजनीतिक स्थायित्व जनताको चाहना हो । स्थायित्व भयो भनेमात्रै सुशासन कायम गर्न सकिन्छ, भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, विकास निर्माणलाई अगाडि लान सकिन्छ । त्यसकारणले राजनीतिक स्थायित्व चाहियो ।
दुईवटा दल मिलेर सरकार बनाउने भएको हुनाले स्वभाविक रुपमा वापर शेयरिङको कुरा हुन्छ । पावर शेयरिङ बराबरीको हैसियतमा गर्छौं भनेर हामीले उल्लेख गरेका छौं । प्रधानमन्त्रीको पद पनि पावर शेयरिङको रुपमा राखिएको छ । पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ । त्यसपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाज्यू प्रधानमन्त्री हुनुहुनेछ,’– उनले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षताजस्ता विषयमा अप्ठ्यारो स्थिति सिर्जना गर्न संविधान संशोधन गर्ने तयारी रहेको भनी भाष्य निर्माण गर्न खोजिएको उनको बताए । सबै राजनीतिक दल मिलेर सकेसम्म सहमतिका आधारमा संविधान संशोधन गरिने उनले बताए । दुई ठूला राजनीतिक दल मिलेर अन्य दललाई पनि साथमा लिएर संविधानमा रहेको अड्चनहरुलाई संशोधन गरिने उनले बताए । ‘सैद्धान्तिक रुपमा संविधान संशोधन गर्ने कुरालाई हामीले उल्लेख गरेका छौं । हामीहरुको संविधान संशोधनको मुख्य उद्देश्य भनेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने हो । समावेशीकरणलाई सुदृढ बनाएर लिएर जाने हो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्