Logo

राजीनामा दिने कि, सदन फेस गर्ने भन्नेबारे अलमलमा तीन प्रदेशका मुख्यमन्त्री, दिएनन् प्रचण्ड-माधवले कुनै संकेत



काठमाडौं,३० असार । केन्द्रको राजनीतिक समीकरणमा फेरबदल आएसँगै अल्पमतमा परेका तीन प्रदेशका मुख्यमन्त्री राजीनामा दिने वा विश्वासको मतका लागि तयारी गर्ने भन्ने टुंगो नलाग्दा अलमलमा परेका छन् ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि नेकपा एमाले सरकारबाट बाहिरिएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालीकराम जम्कट्टेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । तर, उनीहरुले आगामी बाटो भन् तय गरेका छैनन् ।

असार २८ गते केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि आफूहरु पनि सोही अनुसार अघि बढ्ने उनीहरुको तयारी थियो । केन्द्रमा प्रचण्डले विश्वासको मत नपाएपछि सरकार ढलिसकेको छ । अब प्रदेश सरकार के हुने भन्ने केही दिनमा नै थाहा हुनेछ ।

यसैबीच माओवादी केन्द्रले नेतृत्व गरेको बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मतको मिति तय गर्ने भएका छन् । सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गरेर उनले केही दिनमा नै सदन फेस गर्ने तयारी गरेका छन् । यद्यपी उनले विश्वासको मत पाउने कुनै सम्भावना भने छैन् ।

उता लुम्बिनीमा भने मुख्यमन्त्री महराले राजीनामा दिने तयारी गरेका छ्न । १ २ दिनमा नै सदनलाई सम्बोधन गरेर महराले राजीनामाको घोषणा गर्ने उच्च स्रोतले जनाएको छ । प्रदेश सभामा कुनै पनि बहुमतको संकेत नदेखेपछि उनले राजीनामा दिन लागेका हुन् ।

बागमतीमा विश्वासको मत र लुम्बिनीमा राजीनामाको तयारी भएपनि सुदूरमा भने मुख्यमन्त्री सोडारी अलमलमा छन् । उनको दल नेकपा एकीकतृ समाजवादीले हालसम्म कुनैपनि निर्देशन नदिएको कारण उनी अलमलमा परेका हुन् । तर, उनलाई राजीनामा दिन सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले तीव्र दवाव दिँदै आएका छन् ।

तीन प्रदेशका मुख्यमन्त्रीमा सत्तारुढ दलले यसअघि नै भागबन्डा गरिसकेका छन् । जसमा बागमतीमा नेपाली कांग्रेसका बहादुरसिंह लामा, लुम्बिनीमा एमालेका लिला गिरी र सुदूरमा कांग्रेसका कमलबहादुर शाह नयाँ मुख्यमन्त्री बन्नेछन् ।



प्रतिक्रिया दिनुहोस्