Logo

बीआरआईप्रति कांग्रेसको नकारामत्क टिप्पणी केही छैन, तर ऋणमा लिन सकिँदैनः मीन विश्वकर्मा



काठमाडौं, ३० असार । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले चिनिया विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) ऋणमा लिन नसकिने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले नेपालको आर्थिक अवस्था कमजोर रहेकाले अहिले ऋणमा कुनै पनि परियोजनाहरु लिन नसकिने बताएका हुन् । चीनले बीआरआई अनुदानमा दिन तयार रहे आफूहरुलाई कुनै आपत्ति नरहेको पनि उनले बताए ।

‘बीआरआई चाइनिज प्रोजेक्ट हो । चाइना ठूलो देश छ, हाम्रो छिमेकी देश हो । सम्पन्न देश छ । उसले नेपालमा मात्रै होईन, विश्वभरी नै आफ्नो बेल्ट एण्ड रोड इनिसिएटिभ भन्ने प्रोजेक्ट बनाएको छ । त्यो प्रोजेक्टसँग पैसा छ, त्यो पैसा उसले ऋणमा लगाउँछ । ऋणमा लगाएर जुन देशमा विकासका काम गर्ने हो, त्यो देशबाट ब्याजसहित असुली गर्छ । हामीले यसमा के भन्यौं भने हाम्रो आर्थिक अवस्था कमजोर छ । हामीले ऋण तिर्नकै लागि ऋण लिइराखेको अवस्था रहेको र ऋण लिएर बनाएको पोखरा, भैरहवा विमानस्थलकै ऋण तिर्न गाह्रो परेको हुनाले तपाईँको प्रोजेक्टप्रति हाम्रो सदाशयता छ । हामीलाई दिने कुरामा खुसी छौं । तर, हामी ऋण चाहिँ लिन सक्दैनौं है भनेर हामीले धनी मित्र राष्ट्रलाई भनेका छौं,’– उनले भने ।

बीआरआई प्रोजेक्टप्रति कांग्रेसको कुनै नकारात्मक टिप्पणी नरहेको उनले बताए । तर, ऋण फिर्ता गर्नुपर्ने, त्यसको ब्याज अरुको तुलनामा महँगो रहेकाले त्यसलाई अहिलेको अवस्थामा स्वीकार गर्न नसकिने उनको भनाइ छ । उनले अमेरिकाले एमसीसी अनुदानमा दिएझैं चीनले बीआरआई पनि अनुदानमा दिनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्