Logo

कांग्रेस-एमाले गठबन्धन स्वार्थको गाँठो हो, धेरै दिन टिक्दैनः माओवादी नेता शर्मा (भिडिओसहित)



काठमाडौं, ३० असार । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले एमाले–कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै मास्ने तयारी गरेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशितालाई समस्याको रुपमा लिएको बताएका हुन् ।

नेता शर्माले कांग्रेस–एमालेको गठबन्धनलाई स्वार्थको गाँठोको संज्ञा दिँदै स्वार्थ पूरा भएपछि नटिक्ने बताए । उनले कांग्रेस–एमाले गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गरेको जतिपनि काम गर्न सक्ने दाबी गरे ।

‘अहिले जुन गठबन्धन बनेको छ, यो एउटा स्वार्थको गाँठोमात्रै हो । यो तत्कालीक स्वार्थ पूरा भइसकेपछि लामो समय टिक्दैन । प्रचण्ड सरकारको जतिको डेलिभरी अहिलेको सरकारले पनि दिन सक्दैन,’– उनले भने ।

साथै, शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन अहिलेसम्म कांग्रेस–एमालेले सहयोग नगरेको उनले बताए । कांग्रेस–एमालेको अब बलियो सरकार बनेको बताउँदै उनले यसलाई टुङ्ग्याउन सक्नुपर्ने धारणा राखे । शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा कांग्रेस–एमालेलाई माओवादीको सधैं समर्थन रहने उनले बताए ।

‘मान्छेहरुले शान्ति प्रक्रिया प्रचण्डको मात्रै ड्यूटी हो, जति विथोले पनि हुन्छ, यो विथोल्नु भनेकै हाम्रो सफलता हो भनेर लागे । यत्रो बलियो सरकार बनेको छ, शान्ति प्रक्रिया टुङ्ग्याउने काम सरकारको हो । यसले टुङ्ग्याउला, हेरौं । हाम्रो साथ, सहयोग हुन्छ । आजसम्म उहाँहरुले अप्ठ्यारो मात्रै पार्नुभयो । अब उहाँहरुको बलियो सरकार छ, टुङ्ग्याउनुस् । हाम्रो शुभकामना छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्