Logo

माओवादीका मन्त्री फ्याँकेर कांग्रेसलाई सरकारमा भित्र्याउँदै कोशीका मुख्यमन्त्री कार्की



काठमाडौं,३० असार । संघीय सरकारमा नेकपा माओवादी नेतृत्वको सरकार ढलेसँगै प्रदेश तहमा पनि यसको सिधा प्रभाव परेको छ ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि नेकपा एमालेले नेतृत्व गरेका कोशी र कर्णाली प्रदेश सरकार कायम रहने निश्चित भएको छ । कोशीमा हिक्मतकुमार कार्की र कर्णालीमा यमालेकै यामलाल कँडेल मुख्यमन्त्री छन् । केन्द्रमा आज एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएलगत्तै प्रदेश सरकार पुनर्गठनको तयारीमा मुख्यमन्त्रीहरु लाग्ने भएका छन् ।

कर्णालीमा हालसम्म मुख्यमन्त्री कँडेलले केही नबोलेपनि कोशीका मुख्यमन्त्री कार्कीले भने यसअघिनै असार २८ गतेपछि सरकार पुनर्गठन हुने प्रष्ट पारिसकेका छन् । उच्च स्रोतका अनुसार कार्कीले केही दिनमा नै माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई हटाएर सरकारमा नेपाली कांग्रेसलाई भित्र्याउने छन् ।

हाल कोशीमा एमाले र माओवादी केन्द्र सरकारमा छन् भने नेकपा एकीकृत समाजवादी र जसपाले समर्थन जनाएका छन् । माओवादीले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायण बुर्जा मगर, स्वास्थ्यमा राजेन्द्र कार्की, भौतिक पूर्वाधार मन्त्रीमा गणेश उप्रेती र बन्दना झाँगर पर्यटन राज्यमन्त्री रहेका छन् ।

केन्द्रमा परेको सत्ता समीकरणको असरसँगै कोशीमा पनि कार्कीले माओवादीका मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन् । उनले तीन मन्त्री र एक जना राज्यमन्त्रीलाई राजीनामा दिएर सरकार छाड्न सन्देश पठाईसकेको स्रोतको भनाइ छ । तर, केन्द्रबाट पार्टीले कुनै पनि निर्देशन नदिएको कारण माओवादीका मन्त्रीले कुनै पनि कदम चालेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्