Logo

देउवासँग ४ मन्त्रालय माग्ने संस्थापन इतर समूहको निर्णय, मन्त्री छान्ने जिम्मा शेखर, गगन र धनराजलाई



काठमाडौं,३० असार । केपी शर्मा ओलीको नेतृत्वमा पार्टीको तर्फबाट पठाउने मन्त्रीहरु छान्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक बसेको छ । कांग्रेस नेता डा शेखर कोइरालाले नेतृत्व गरेको सो समूहले कांग्रेसले पाउने १० मध्ये ३ जना मन्त्री दिने सभापति शेरबहादुर देउवाको तयारीपछि उनीहरु छलफलमा जुटेका हुन् । कोइरालाको विशालनगरस्थित सचिवालयमा बसेको बैठकमा महामन्त्री गगन थापा, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियार, अर्जुननरसिंह केसी, बलबहादुर केसी, दिलेन्द्र बडू, डा मिनेन्द्र रिजाल र डा चन्द्र भण्डारी सहभागी थिए ।

संस्थापन इतर समूहबाट सांसदहरु जीवन परियार, बद्री पाण्डे, चन्द्र भण्डारी , प्रदीप पौडेल, प्रतिमा गौतम र अर्जुननरसिंह केसीलगायतले मन्त्रीका लागि लविङ गरिरहेका छन् । आजको बैठकले सभापति देउवासँग ४ मन्त्री माग्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार शेखर गगन समूहले चार मन्त्री माग गर्ने र समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिइएको छ ।

आज साँझ एमाले अध्यक्ष अ‍ोली प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनले भोलि बिहान ११ बजे प्रधानमन्त्रीको शपथ लिनेछन् । प्रधानमन्त्रीको शपथ लिएकै दिन ओलीले कम्तिमा पनि १५ जनालाई मन्त्री नियुक्त गर्नेगरि तयारी गरेका छन् ।

कांग्रेसले शनिबारमात्रै कार्यसम्पदन समिति बैठक बोलाएर पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरू चयन गर्दा योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशीता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर चयन गर्ने निर्णय गरेको थियो । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्