Logo

जाँदाजाँदै रविले भने, ‘निर्मला पन्तको विषयमा अत्यन्त नजिक पुगेका थियौं’



काठमाडौं, ३० असार । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मन्त्रालयबाट विदा भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेर कांग्रेस–एमाले गठबन्धनको सरकार बन्ने निश्चित भएसँगै उनी औपचारिक रुपमा विदाइ भएका हुन् ।

विदाइ कार्यक्रमको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले काम गर्ने क्रममा भएका कमजोरीहरुको जिम्मा लिने बताए । उनले आफ्नो कार्यकालमा स्पिडको साथ काम भएको बताए । ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउँदा शान्ति सुव्यवस्था र अपराध अनुसन्धानमा असर देखिन सक्ने उनले चिन्ता व्यक्त गरे ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणका बेचन झा पक्राउ परेपछि सत्ता समीकरणमा फेरबदल आएको दाबी गरे । सत्ता समीकरणमा फेरबदल आएसँगै अनुसन्धानका क्रममा रहेका कतिपय मुद्दाहरु प्रभावित भएको उनको भनाइ छ । गृहमन्त्री लामिछानेले सत्ता समीकरणमा फेरबदल आएसँगै सञ्चारकर्मीहरुको पनि कमल लुकेको टिप्पणी गरे ।

‘कतिपय कुराहरु छानविनका क्रममा थिए, कतिपय कुराहरु बयानका क्रममा थिए, फरार अभियुक्तहरु पक्राउ परेका थिए । अब फरार अभियुक्त पक्राउ भएसँगै कयौं कुराहरु बाहिर आएका छन् । बाहिर आएका कयौं चिजहरु सरकार परिवर्तनसँग सामसुम्म देखिन्छ । चाइचुईँ नबोलेको अवस्था छ । त्यतिखेर नेपाल प्रहरीले र अनुसन्धान व्यूरोले तदारुकताका साथ काम गरोस् । कमल झुक्दैन, कलम रोकिँदैन भन्ने मैले सुनेको थिएँ । कलम रोकियो । बेचन झा पक्राउ परे । मन्त्रिपरिषद्मा निर्णय गराउँछु भन्ने अडिओ सार्वजनिक भएको छ । त्यहाँ पुष्टि हुने ठाउँहरु प्रशस्त छन् । तर, भोलि पुष्टि हुँदा, अनुसन्धानको सुईँ शक्तिकेन्द्र पुग्दा तपाईँहरुको हात नकापोस्,’– उनले भने ।

साथै, बलात्कारपछि मारिएकी निर्मला पन्तको हत्यारा पत्ता लगाउने विषयमा अत्यन्त नजिक पुगेको उनको दाबी छ । उनले आफूलाई बारम्बार उक्त प्रश्न सोधिएको भएपनि रिजल्ट आएपछि भन्ने भनेर बसेको बताए । ‘निर्मला पन्तको विषयमा अत्यन्त नजिक पुगेका छौं हामी । एकदमै नजिक, बारम्बार मलाई सोधियो, मैले कहिले पनि भनिनँ । किनकी रिजल्ट आओस् अनि भनौंला भनेर । हामी कति नजिक छौं, सुरक्षा निकायलाई थाहा छ,’–उनले भने । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्