Logo

बाढी पीडितलाई तत्काल राहत उपलब्ध गराउन उपेन्द्र यादवको माग



काठमाडौं,३० असार । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चितवनको सिमलतालस्थित सडकबाट त्रिशूली नदीमा गाडी खसेर ज्यान गुमाएकासँगै देशभर बाढी पहिरोबाट प्रभावित भएका हरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै पूर्व उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादवले मृतकका परिवारलाई राहत उपलब्ध गराउँदै पहिरोमा परेर हराइरहेका यात्रुहरूको खोजीलाई तीव्रता दिन पनि माग गरेका छन् ।

‘केही दिनदेखि भईरहेको अविरल वर्षाका कारण देशको विभिन्न स्थानमा बाढी र पहिरोले भएको जनधनको क्षतिप्रति जनता समाजवादी पार्टी, नेपाल गहिरो दुःख व्यक्त गर्दछ । यस प्राकृतिक विपद्मा परि जीवन गुमाउनुहुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त समस्त परिवारजनमा हार्दिक समवेदनासहित घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं’ यादवले विज्ञप्तिमा भनेका छन् ‘घाईतेहरूको उपचारको सम्पूर्ण व्यवस्था तथा पीडित परिवारलाई यथाशीघ्र राहतको व्यवस्था मिलाउन जसपा, नेपाल सरकारसँग आग्रह गर्दछ । प्रभाभित क्षेत्रमा उद्धार तथा राहत कार्यमा जुट्न यस पार्टीका सदस्यहरू तथा भ्रातृ संगठनहरूलाई हार्दिक अपिलसमेत गर्दछौं’ ।



प्रतिक्रिया दिनुहोस्