Logo

ओलीलाई प्रधानमन्त्री बनाएर सुशील कोइरालाले दिएको धोकाको पैंचो तिरेका देउवा



काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औं तथा व्यक्तिगत चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

शुक्रबार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओलीलाई प्रधानमत्री नियुक्त गर्न माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाबी पेश गरेका थिए । कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलको समर्थनमा संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारमा दाबी पेश गर्न आजसम्मको समय दिएका थिए ।

राष्ट्रपतिको कार्यालयका अनुसार तोकिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाइने जनाएको छ। प्रधानमन्त्रीको ओलीको नियुक्ति आजै हुने भएपनि शपथ कार्यक्रम भने सोमबार हुने सम्भावना रहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली पुनः चौथो पटक प्रधानमन्त्री बन्न लागेका हुन्।

एमाले र कांग्रेसले एकै पटक दुई पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम समावेश गरेर मन्त्रिमण्डल गठनको तयारी गरेका छन्। एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ११ र एमालेले १० मन्त्रालय पाउने सहमति भएको छ। कांग्रेसका एक नेताका अनुसार गृह र परराष्ट्र कांग्रेसले लिने, अर्थ र सञ्चार एमालेले लिने सहमति भएको छ। अन्य मन्त्रालयका विषयमा भने शीर्ष नेताहरू छलफलमै जुटिरहेका छन्।

२०७४ को निर्वाचनपछि करिब दुई तिहाइको समर्थनमा प्रधानमन्त्री भएका ओली सर्वोच्चको परमादेशबाट हटाइएको थियो। सर्वोच्चको संवैधानिक इजलासबाट यो परमादेश जारी भएको थियो। त्यो बेला परमादेशबाट ओली हटेर कांग्रेस सभापति शेरबहादुर देउवा परमादेशबाट प्रधानमन्त्री बनेका थिए। त्यो असार २८ मा देउवासहित माओवादी केन्द्र, एमालेकै तत्कालीन विद्राही नेता माधवकुमार नेपालसहित मिलेर ओली सरकार बर्हिगमन गराएका थिए । अहिले आएर देउवाकै समर्थनमा ओली प्रधानमन्त्री बनेका छन्। दाहाल र नेपाल भने देउवा ओलीको विपक्षमा छन्। तीन वर्षपछि फेरि बहिर्गमन भएकै दिन असार २८ मा ओलीको पुनरागमन भएको छ। दुई ठूला दलको समर्थनमा शक्तिशाली प्रधानमन्त्री बन्दै छन्।

ओली प्रधानमन्त्री बन्दै गर्दा एमाले र कांग्रेसबीच हालसम्म ६ पटक सत्ता सहकार्य भएको छ भने एक पटक सो सहकार्य धोकामा परिणत भएको छ ।

कांग्रेस र एमालेबीच २०५५ देखि २०७० सम्म पटक–पटक गरी ५ पल्ट औपचारिक रुपमै सत्ता सहकार्य भइसकेको छ । तर, दुई दलबीचको झण्डै आधा दर्जन सत्ता सहकार्यले मुलुकलाई संविधान निर्माणबाहेकको उपलब्धि र राजनीतिक स्थिरता दिन नसकेको तीतो विगत छ ।

०५५ सालमा पहिलोपटक एमाले र कांग्रेसबीच सत्ताको सहकार्य भएको थियो । गिरिजाप्रसाद कोइराला नेतृत्वको तत्कालीन सरकारमा सामेल भएको नेकपा माले सरकारबाट बाहिरिएपछि एमाले सरकारमा सामेल भएको थियो । एमाले सामेल सोही सरकारले ०५६ सालको आम निर्वाचन गराएको थियो ।

०५५ सालमा सुरु भएको एमाले र कांग्रेसबीचको सत्ता सहकार्य दोस्रो पटक ०६१ सालमा बनेको थियो । ततरकबालीन राजा ज्ञानेन्द्रले सत्ता जनताको हातमा सुम्पिएपछि प्रतिगमन आधा सच्चिएको भन्दै एमाले कांग्रेस नेतृत्वको सरकारमा सामेल भयो । सो सरकारको नेतृत्व पनि कांग्रेसका तत्कालीन सभापति कोइरालाले नै गरेका थिए ।

राजतन्त्रविरुद्धको दोस्रो जनआन्दोलन सफल भएपछि २०६३ वैशाख १२ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा एमाले सहभागी भएको थियो । कांग्रेससँग तेस्रोपल्ट सत्ता सहकार्य गर्दै एमालेले नेतृ साहना प्रधानलाई परराष्ट्रमन्त्री बनाएर सरकारमा पठाएको थियो ।

०५५, ०६१ र ०६३ सालमा लगातार तीन पटक कांग्रेसको नेतृत्वमा बनेको सरकारमा एमाले सामेल भएपछि ०६६ सालमा एमालेले नेतृत्व गरेको सरकारमा कांग्रेस सामेल भएर चौथो पटक यी दुई दलले सत्ता सहकार्य गरेका थिए । ०६४ चैतमा सम्पन्न पहिलो संविधान सभा निर्वाचनमा एमाले तेस्रो दलमा खुम्चिएपछि तत्कालीन पार्टी प्रमुख माधवकुमार नेपालले पदबाट राजीनामा दिए । उनी स्वयंले काठमाडौं २ बाट हालका राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीसँग शर्मानक हार व्यहोरेका थिए । आफू पनि पराजीत भएको र पार्टी तेस्रो स्थानमा खुम्चिएको भन्दै उनले राजीनामा दिए । तर, पछि उनी मनोनीत सांसदको रुपमा संविधान सभामा छिरे ।

सो निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको माओवादीबाट प्रचण्ड प्रधानमन्त्री बने । तर, ९ महिनापछि प्रधानसेनापति रुक्माङ्गत कटुवाटलाई हटाउन खोज्दा उनले सत्ता गुमाए । प्रचण्डले सत्ता गुमाएपछि बनेको माधव नेपालको सरकारमा कांग्रेस सहभागी भएको थियो ।

०६६ जेठ ९ मा गठित नेपाल नेतृत्वको सरकारमा कांग्रेसले नेतृ सुजाता कोइरालालाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाएर पार्टीको नेतृत्व गर्ने गरी सरकारमा पठाएको थियो । तत्कालीन सरकारलाई कांग्रेससहित २२ दलको समर्थन थियो । २०६६ जेठ ९ मा मुलुकको ३३ औँ प्रधानमन्त्री बनेका एमाले नेता नेपालले २०६७ असार १६ मा राजीनामा दिए ।

नयाँ सरकार गठनमा ढिलाइ भएपछि एमाले नेता नेपालले २०६७ माघसम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा सत्ता सञ्चालन गरिरहेका थिए । पहिलो संविधानमा १८ महिना सत्ता सहकार्य गरेका कांग्रेस–एमालेबीच २०७० मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनपछि पुनः एक ठाउँमा उभिएका थिए, जुन उनीहरुको पाँचौं सत्ता सहकार्य थियो ।

ओलीलाई कोइरालाले दिएको त्यो धोका

०७० मंसिर ४ गते भएको दोस्रो संविधान सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र पहिलोबाट सीधै तेस्रो स्थानमा खुम्चिन पुगेपछि नेपाली कांग्रेस पहिलो र एमाले दोस्रो दल बन्न पुगेका थिए । सो समयमा एमालेको नेतृत्मा झलनाथ खनाल थिए । तर, लगत्तै भएको एमोलको नवौं महाधिवेशनमा केपी शर्मा ओली निर्वाचित भए भने कांग्रेसको सभापति सुशील कोइराला थिए ।

दोस्रो संविधान सभा निर्वाचनपछि एमाले र कांग्रेसबीच पाँचौ सत्ता सहकार्य भयो । जस अनुसार संविधान जारी हुनेबेलासम्म कोइराला प्रधानमन्त्री हुने र संविधान जारी भएपछि एमाले अध्यक्ष अ‍ोली प्रधानमन्त्री हुने समझदारी बन्यो । सो समझदारी अनुसार ०७० माघ २७ गते कोइराला प्रधानमन्त्री निर्वाचित भए भने फागुन १३ मा एमाले कोइराला सरकारमा सामेल भयो । एमालेबाट वामदेव गौतमले सरकारको नेतृत्व गरेका थिए ।

सहमतिअनुसार नै एमालेले पहिलो चरणमा सुशील कोइरालालाई प्रधानमन्त्रीमा सहयोग गर्‍यो र संविधान जारी पनि भयो । तर, संविधान जारी भइसकेपछि पूर्वसहमतिअनुसार ओलीलाई सत्ता हस्तान्तरण गर्न कांग्रेस सहमत देखिएन ।

०७२ सालको असोज ३ गते नयाँ संविधान जारी भएपछि पूर्व सहमति अनुसार कोइरालाले सत्ता छाडेर ओलीलाई साथ दिनुपर्ने थियो । तर, असोज २९ गते भएको प्रधानमन्त्री पदको निर्वाचनमा कोइराला स्वयं प्रधानमन्त्रीको उम्मेदवार बनेपछि एमालेले माओवादीसँग गठबन्धन गर्यो । ओली पहिलोपटक प्रधानमन्त्री नियुक्त भए भने कोइराला पराजित भए । सोही सालको माघमा कोइरालाको आकस्मिक निधन भयो ।

कोइरालाले दिएको धोकाको पैंचो तिरे देउवाले

०७२ सालमा कांग्रेसले धोका दिएपछि एमालेसाग कुनैपनि सत्ता सहकार्य बन्न सकेन् । ०७२ पछि कांग्रेस सभापति शेरबहादुर देउवा २ पटक प्रधानमन्त्री बने । दुवै पटक नेकपा माओवादी केन्द्रको समर्थनमा । उनी आफूमात्र प्रधानमन्त्री बनेनन् माओवादी केनद्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि दुर्य पटक प्रधानमन्त्री बनाए । त्योस ०७२ पछि माओवादी केन्द्रको साहरामा एमाले अध्यक्ष अ‍ोली पनि तीन पटक मुलुकको प्रधानमन्त्री बने । बरु यसबीचमा कहिले कांग्रेस माओवादी त कहिले एमाले माओवादी गठबन्धन बरिरह्यो तर, दुई ठूला दल नेकपा एमाले र कांग्रेस कहिल्यै मिलेनन् ।

तर, ०७९ को मंसिरमा सम्पन्न आम निर्वाचनपछि यी दुई दल मिलेर दिगो सरकार बनाउनुपर्ने आवाज व्यापकमात्रमा उठेको थियो । सुरुआती चरणमा छलफल पनि भयो । तर, कांग्रेससँग सजिलै विश्वास गर्ने आधार नभएको भन्दै ओली पछि हटेपछि ०७९ पुस १० गते माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बने ।

एमालेको फेरो समातेर प्रधानमन्त्री बनेका दाहालले १८ महिनामा कहिले एमाले त कहिले कांग्रेस गर्दै पटक-पटक संसद्मा विशवासको मत लिँदै सरकार चलाउँदै गरेपछि अन्ततः राजनीतिक स्थिरता र संविधानको पुनरावलोकनका लागि भन्दै दुई ठूला दल नेकपा एमाले र कांग्रेस मिलेका छन् । दुई दल मिल्दा ओली प्रधानमन्त्री बन्न पाएका छ्न भने ०७२ सालमा कोइरालाले दिएको धोकाको पैंचो यसपटक देउवाले तिरेका छन् ।



प्रतिक्रिया दिनुहोस्