Logo

कांग्रेसले ९ र एमालेले ८ मन्त्री लिनेगरि टुंगियो भागबन्डा, यी हुन् २ दलले नेतृत्व गर्ने १७ मन्त्रालय



काठमाडौं,३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मुलुकको ४५औं तथा व्यक्तिगत चौथो पटक प्रधानमन्त्री नियुक्त हुँदैछन् ।

शुक्रबार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर ओलीलाई प्रधानमत्री नियुक्त गर्न माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाबी पेश गरेका थिए । कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने दुई वा सो भन्दा बढी दलको समर्थनमा संविधानको धारा ७६ को उपधारा २ अनुसार सरकारमा दाबी पेश गर्न आजसम्मको समय दिएका थिए ।

राष्ट्रपतिको कार्यालयका अनुसार तोकिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाइने जनाएको छ। प्रधानमन्त्रीको ओलीको नियुक्ति आजै हुने भएपनि शपथ कार्यक्रम भने सोमबार हुने सम्भावना रहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली पुनः चौथो पटक प्रधानमन्त्री बन्न लागेका हुन्।

यसैबीच सत्ता सहयात्राको समझदारी गरेर सरकार गठनको तयारीमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्रालय भागबन्डा टुंग्याएका छन्। दुवै दलका शीर्ष नेताहरूबीच भएको समझदारी अनुसार कांग्रेसले ९ र एमालेले ८ वटा मन्त्रालय लिनेगरी सहमति बनेको हो।

स्रोतका अनुसार, एमालेले अर्थसहित ८ मन्त्रालय र कांग्रेसले गृहसहित ९ मन्त्रालय लिने समझदारी जुटेको हो।

बालकोट स्रोतले दिएको जानकारी अनुसार एमाले ५ मन्त्रालय साना दलका लागि छाडेर १७ वटा मन्त्रालयमा भागबन्डा गरेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार एमालेको भागमा अर्थ सहित भौतिक योजना तथा पूर्वाधार विकास मन्त्रालय, सञ्चार, सूचना तथा प्रविधि मन्त्रालय, शिक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भूमिसुधार मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पर्दा कांग्रेसको भागमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, ऊर्जा मन्त्रालय,स्वास्थ्य मन्त्रालय, सहरी विकास मन्त्रालय,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्तालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय,कृषि मन्त्रालय र वन मन्त्रालय परेको छ भने बाँकी ५ मन्त्रालय जसपा, जसपा नेपाल, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीलाई छाडिएको छ ।



प्रतिक्रिया दिनुहोस्