Logo

मन्त्रीको नाम टुंग्याउनुअघि पूर्वराष्ट्रपति भण्डारी भेट्न पुगे नवनियुक्त प्रधानमन्त्री ओली



काठमाडौं,३० असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न भण्डारीको निवास चपली गएका छन् ।

राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भएलगत्तै ओली पूर्व राष्ट्रपतिसँग छलफल गर्न त्यसतर्फ लागेका हुन् । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।

एमोलले प्रधानमन्त्रीसहित ८ जना मन्त्री पाएको छ । एमोलले मन्त्री छान्ने जिम्मा ओली स्वयंलाई दिएको छ । एमालेबाट मन्त्री हुनेहरुको नामप्रति पूर्व राष्ट्रपति भण्डारीको पनि विशेष चासो रहेको स्रोतको दाबी छ । भण्डारीले आफूनिकट सांसद दीपा शर्मा र गोकुल बाँस्कोटामध्ये एक जनालाई मन्त्री बनाउन आग्रह गर्ने बुझिएको छ ।

ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।

प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।



प्रतिक्रिया दिनुहोस्