Logo

सत्तामा रहँदा प्रचण्ड र रवि लामिछाने संवेदनहीन बनेको एमाले उपमहासचिव ज्ञवालीको आरोप (भिडिओसहित)



काठमाडौं, ३१ असार । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले देश अहिले सामान्य अवस्थामा नरहेको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देशको अवस्था हेरेर नै कांग्रेस–एमालेको गठबन्धन बनेको बताए ।

उपमहासचिव ज्ञवालीले राष्ट्रिय हित, विकास र समृद्धिलाई अगाडि लाने, सुशासन कायम गर्ने, मुलुकमा राजनीतिक स्थायित्व कायम गर्ने र विकृतिको अन्त्य गर्दै जनतालाई परिवर्तनको प्रत्याभूति दिने कुरालाई ओली नेतृत्वको सरकारले प्राथमिकतामा राखेको बताए ।

कांग्रेस–एमाले सहयात्रा आजको आवश्यकता रहेको उनको भनाइ छ । आफूहरुले जनतासँग अपिल गर्दा राजनीतिक स्थायित्व र विकासका लागि जनादेश दिनुस् भनेपछि २०७९ सालको निर्वाचनपछि छरिएको जनादेश आएको राजनीतिक स्थायित्व हुन नसकेको उनको भनाइ छ । उनले स्थायित्वको निम्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाएको भएपनि त्यसको भोलिपल्टैदेखि धोखाको राजनीति सुरु भएको बताए ।

राजनीतिक स्थिरता हुँदा नेपाललाई बाह्य मुलुकले हेर्ने दृष्टिकोण, जनतामा जगाउनु पर्ने भरोसा र सुशासन सबै लथालिङ्ग भएको उनको आरोप छ । उनले एमाले–कांग्रेस लोकतन्त्रि प्राप्तिका लागि ७ दशकभन्दा बढी समय लडेको पार्टी रहेको बताउँदै आगामी दिनमा जनताले प्रश्न नउठाउन् भनेर अहिलेको गठबन्धन बनेको बताए ।

निवर्तमान प्रधानमन्त्री प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सत्तामा बसेर संवेदनहीन बनेको उनको भनाइ छ । लामिछानेले सहकारी पीडितहरुको आँशुलाई अनुभूति गर्न नसकेको उनले बताए । त्यस्तै प्रचण्डले आफ्नै आह्वानमा युद्धमा होमिएका युवाहरुले शरीरमा बोकेर हिडेको गोलीको दुःख कहिले पनि अनुभूत गर्न नसकेको उनको भनाइ छ । उनले

‘गृहमन्त्रीजीले सहकारी पीडितहरु जसले बाटोमा मकै पोलेर दिनमा सय, ढेढ सय, दुई सय गरेर जम्मा गरेको पैसा, फुटपाथमा जुत्तामा पालिस लगाएर या सामान्य खालका कपडा बेचेर त्यसरी जम्मा गरेको पैसा सहकारी सञ्चालकहरुले बदमासी गर्दा पीडितहरुको आँखामा आएको आँसुलाई अनुभूत गर्नुभयो ? प्रधानमन्त्रीले हिजो आफ्नै आह्वानमा युद्धमा होमिएका युवाहरु, जो आज पनि शरीरमा गोली बोकेर हिँडिरहेका छन्, तिनीहरुको पीडालाई, दुःखलाई कहिल्यै अनुभूत गर्नुभयो ? अलिकति पनि संवेदना भएको भए देशमा परिरहेको समस्या कम्तिमा एक तिहाइ सटरहरु बन्द छन् । त्यो संकट हो कि होईन ? जब अर्थतन्त्र लयमा चल्दैन, संकट त्यो हो,’– उनले भने । File Photo/RN



प्रतिक्रिया दिनुहोस्