Logo

जीवन र छविलालको नाम काटिँदा दलित समुदायविहीन बन्यो ओली मन्त्रिपरिषद्



काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिपरिषद्‌मा दलित समुदायबाट एक जना पनि मन्त्री नियुक्त भएका छैनन् ।

सोमबार विस्तार भएको मन्त्रिपरिषद्‌मा जनजाति, आर्य, मधेसी लगायत समुदायबाट प्रतिनिधित्व हुँदा १३ प्रतिशत रहेको दलित समुदायको उपस्थिति विहीन भएका छन् ।

आइतबार साँझसम्म एमाले सचिव छविलाल विश्वकर्मा र नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार मन्त्रीको सूचीमा थिए । तर, आज बिहान दुवैको नाम काटिँदा उनीहरु मन्त्री बन्नबाट छुटेका हुन् । विश्वकर्मा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित हुने एकमात्र सांसद ह्न् ।

मन्त्रीमा कुनै पनि दलीत सांसद नसमेटेका ओलीले एमालेबाट रुक्मिणी राणा बराईली र चन्द्रबहादुर विश्वकर्मालाई राज्यमन्त्री बनाउने तयारी गरेका छन् । यसअघि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि कुनै पनि दलीत सांसदलाई मन्त्री बनाएका थिएनन् ।

यता ओली सरकारमा २ जना महिलाले मन्त्री बन्ने अवसर पाएका छन् । एमालेकी विद्या भट्टराई शिक्षा र कांग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् ।



प्रतिक्रिया दिनुहोस्