काठमाडौं, ३१ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा दलित समुदायको प्रतिनिधित्व नभएपछि आलोचना सुरु भएको छ । हिजो (आइतबार) प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका थिए । ओलीले दुई उपप्रधानमन्त्री र १९ जना मन्त्री नियुक्त गरे । उक्त मन्त्रिपरिषद्मा महिलाको सहभागिता न्यून र दलितको सहभागिता शून्य रहेको छ ।
नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा परराष्ट्रमन्त्री बनेकी छन् भने एमालेकी नेतृ विद्या भट्टराई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेकी छन् । कूल २२ सदस्यीय मन्त्रिपरिषद्मा २ जना महिलाहरु समेटिएका छन् ।
ओली नेतृत्वको मन्त्रिपरिषद्मा दलितको सहभागिता शुन्य भएपछि कांग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले दलित समुदायलाई के जवाफ दिने होला ? भनी प्रश्न गरेका छन् । ‘दलित समुदायले के यो सरकार हाम्रो पनि होइनर ? भनेमा जवाफ के दिने होला ?’ उनले प्रश्न गरेका छन् ।