Logo

सरकार अल्पमतमा पर्दा सुदूरमा आजबाट ‘बजेट होलिडे’, ३० दिन नभई सत्ता नछाड्ने मुख्यमन्त्रीको संकेत



काठमाडौं,१ साउन । सुदूरपश्चिम प्रदेश सरकार आजबाट बजेट शून्यतामा गएको छ । गत असार १ गते सार्वजनिक भएको आगामी आर्थिक वर्ष ०८१-८२ को विनियोजित बजेट प्रदेश सभाबाट पास नहुँदा सरकार बजेट होलिडेतर्फ पुगेको हो ।

मुख्यमन्त्री दीर्घ सोडारी हाल सुदूर सरकारको नेतृत्वमा छन् । तर, उनको सरकार १० दिनदेखि अल्पमतमा परेको छ । २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि सोडारी सरकार अल्पमतमा परेको हो । सोही दिन सरकारमा सहभागी एमालेका आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला मन्त्री हिरा सार्की र वन, वातावरण तथा सहकारी मन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका थिए ।

अल्पमतका परेका सोडारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न असार २९ गते तीन प्रमुख राजनैतिक दलले सुझाव दिएका थिए । पत्रकार सम्मेलन गर्दै कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरूले अल्पमतमा परेका सोडारीकै कारण बजेट पास नहुने अवस्थामा पुगेको भन्दै राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

तत्कालीन गठबन्धनबाट आर्थिक मामिला मन्त्री बनेका एमालेका सुरेन्द्रबहादुर पालले असार १ गते ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट पेस गरेका थिए। तर उक्त बजेटमा असार मसान्तसम्म छलफल नै हुन सकेन। असार मसान्तको राति १२ बजेसम्म बजेट पास हुनुपर्ने संवैधानिक प्रावधान छ। तर, यो समयसम्म बजेट पाए नभएपछि शून्यताको अवस्था सृजना भएको हो ।

बहुमत सांसदहरुले राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएपनि मुख्यमन्त्री सोडारीले सत्ता छाड्ने संकेत गरेका छैनन् । आफूले विश्वासको मत लिन संवैधानिक रुपमा ३० दिनको समय रहेको जिकिर गर्दै सोडारीले साउन १९ गतेसम्म सरकार चलाएर राजीनामा दिने संकेत गरेका छन् । यता नयाँ सरकार गठनका लागि तम्तयार अवस्थामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले भने तत्काल सत्ता छाड्न दवाव दिईरहेका छन् ।

यता सरकारमा रहेका नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलले एमालेले सहयोग नरेका कारण बजेट पास हुन नसकेको जिकिर गरेका थिए ।

‘प्रदेश प्रमुखले सदन अन्त्य गरिदिएमा हामी अध्यादेशबाट बजेट ल्याउने तयारीमा छौँ, तर त्यसो भएन भने एक, दुई दिनमा पेस्की बजेट आउन सक्छ’ आर्थिक मामिला मन्त्री अक्कलबहादुर रावलले भने। ‘मुख्यमन्त्रीज्यू राजीनामा दिनुहुन्न, हामी विश्वासको मतको ‘फेस’ गर्न पनि सक्छौँ, अथवा राजीनामा दिए पनि अन्तिम दिन मात्रै दिन्छौँ।’



प्रतिक्रिया दिनुहोस्