Logo

सत्ता गुमेपछि कम्युनिष्ट घटकसँग एकताको गृहकार्यमा प्रचण्ड, आजपनि डाके समाजवादी मोर्चाको बैठक



काठमाडौं,१ साउन । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । आज अपरान्ह ४ बजे नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्न लागेको हो । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।

साथै समाजवादी मोर्चाको आगामी रणनीति र योजना तय गरिने पनि बताइएको छ । समाजवादी मोर्चामा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन् ।

यता हालै सत्ताबाट बर्हिगमित भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट घटकहरुसँग तत्काल एकता गर्ने गरि तयारी थालेका छन् । उनले पूर्व माओवादीघटकसँग पहिलो चरणमा र दोस्रो चरणमा अन्य कम्युनिष्ट घटकसँग एकता गर्नेगरि तयारी थालेको माओवादी केन्द्र स्रोतले जनाएको छ ।

पहिलो चरणमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्नेगरि उनको तयारी छ । कांग्रेर र एमाले मिलेर नयाँ सरकार गठनको प्रक्रिया थालेदेखि नै प्रचण्डले विप्लवसँग सघन वार्ता गरिरहेका थिए । दुवै दलका नेतृत्वकर्ता पार्टी एकताको लागि तयार छन् । उता, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि माओवादीसँग एकता गर्नको लागि सो दलका नेताहरु सक्रिय छन् ।

यादव र सह–अध्यक्ष गंगानारायण श्रेष्ठले हालै दाहालसँग खुमलटारमा पुगेर भेटवार्ता गरेका छन् । उनीहरुले गत साता विप्लवसँग पनि भेटवार्ता गरिसकेका छन् । प्रचण्डले मधेशमा पनि माओवादी कमजोर भएकोले प्रभु साहको आम जनता पार्टीलाई पनि पार्टीमा भित्र्याएर अध्यक्ष साहलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारी गरेको माओवादी स्रोत बताउँछ ।

कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्ने सहमति गरेको कुरा बाहिर आएपछि पूर्व माओवादी घटकहरु एक हुनुपर्ने आवाज उठेको छ । तर, नेसपाका अध्यक्ष डा।बाबुराम भट्टराई भने तत्काल एकताको लागि राजी छैनन् । उनले पछिल्लो समय प्रचण्डको खरो आलोचना गर्ने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्