Logo

काठमाडौं महानगरको श्रम बैंकबाट ९ सयभन्दा धेरैले पाए रोजगारी



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरको श्रम बैंकबाट ९ सय भन्दा बढीले रोजगारी पाएको बताएका छन् । ३२९ जनाले निजी तथा ५८३ जनाले सरकारी क्षेत्रमा रोजगारी पाएको उनले जानकारी दिएका छन् ।

मंगलबार फेसबुकमार्फत बालेनले महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ वर्षको कार्ययोजना बनाई कम्तिमा १५ हजार जनालाई तालिम तथा ५ हजारलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना रोजगारी र आयवृद्धि काठमाडौंको समृद्धि तथा श्रम बैंक स्वर्णिम योजना अगाडि बढाएको बताइका छन् ।

‘यसको सुरूवात भएको आर्थिक वर्ष २०८०र८१ मा सिप मेला २०८१ मार्फत् २,५५५ जना, महानगरको तालिम केन्द्रहरूमार्फत १,४६७ जना र अनलाइनमार्फत २,००० गरी जम्मा ६,०२२ जनाले तालिम सम्पन्न गरेका छन्’, उनले भनेका छन् ।

श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका उनले उल्लेख गरेका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको उनले उल्लेख गरेका छन् । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरू रोजगाररस्वरोजगार भएका उनले बताएका छन् ।

‘महानगरको सानो प्रयासले १ आर्थिक वर्षमा १,७०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनीहरू रोजगार-स्वरोजगार हुनुभएको छ । यद्यपि, यो हाम्रो लक्ष्यभन्दा धेरै सानो संख्या हो’, बालेनले भनेका छन्, ‘आर्थिक वर्ष २०८१-८२ मा दुवै योजनाहरूलाई थप परिस्कृत गरी लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरी बजेट तथा कार्यक्रमहरू तयार गरेका छौँ’ ।



प्रतिक्रिया दिनुहोस्