Logo

रहस्यमयी तरिकाले बनेको कांग्रेस-एमाले गठबन्धन सरकार धेरै लामो समय टिक्दैनः माओवादी नेता बुढाक्षेत्री



काठमाडौं, १ साउन । नेकपा (माओवादी केन्द्र) का नेता खेलप्रसाद बुढाक्षेत्रीले रहस्यमय तरिकाले कांग्रेस–एमालेको सरकार बनेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार इतिहासकै शक्तिशाली रुपमा अगाडि गइरहेको बेला एकाएक ढल्नु रहस्यमय रहेको बताएका हुन् । साथै, उनले एमाले–कांग्रेस नेतृत्वको सरकार धेरै लामो समय नटिक्ने पनि दाबी गरे ।

‘एमाले–कांग्रेस दुई ठूला पार्टी सत्तामा पुगे । सत्ता समीकरणको हिसाबले यसलाई धेरै अन्यथा लिन हुँदैन । अहिले एकाएक जुन ढंगले सरकार बद्लियो, एमाले–कांग्रेस र अरु केही साना दललाई मिलाएर सरकार बनाइयो । तर, यो रातारात सरकार फेरिनु रहस्यमय छ । यो सरकार धेरै पर जान्छजस्तो लाग्दैन ।’ उनले भने, ‘प्रचण्ड नेतृत्वको सरकारमा एमाले पनि थियो । एउटा ढंगले अगाडि गइरहेको थियो । इतिहासकै शक्तिशाली सरकारको रुपमा प्रचण्ड नेतृत्वको सरकार गइरहेको थियो । ठूला–ठूला भ्रष्टाचारीहरुलाई कारबाही गर्दै थियो । तस्करहरुलाई समाउँदैथियो । सुशासनको कुराहरु अगाडि बढिरहेको थियो । राम्रै सरकार हुँदाहुँदै, जनताले यसको निरन्तरता चाहिरहेका थिए । एकाएक बद्लियो । यो स्वभाविक ढंगले रहस्यमय छ ।’

उनले निश्चित स्वार्थ पूरा गर्नका लागि कांग्रेस–एमालेको सरकार बनेको बताए । कांग्रेस–एमालेभित्र नै यो सरकार धेरै लामो समय टिक्दैन भन्ने गाइँगुईँ सुरु भइसकेको उनले बताए । माओवादीले देशलाई स्थिरतामा लानका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको एजेण्डा अगाडि सारेपनि त्यो पूरा हुन नसकेको उनले बताए । माओवादीले जनयुद्ध, शान्ति प्रक्रिया र संविधान जारी हुने बेलासम्म प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको माग गरिरहेपनि संविधानमा केही सम्झौता गर्दा त्यो पूरा नभएको र अहिले राजनीति अस्थिर बनेको बताए ।

साथै, माओवादी संविधान संशोधनको पक्षमा रहेको बताए । उनले संघीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणालीलगायत संविधानको बेसिक स्ट्रक्चर भने तलमाथि गर्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्