Logo

अब प्रचण्ड कमरेडको कालो सिसीको औषधि विक्रि हुँदैनः एमाले नेता भट्टराई



काठमाडौं, १ साउन । नेकपा (एमाले) का नेता गुरु भट्टराईले नेकपा (माओवादी केन्द्र) र निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले दुवै दललाई ढाँटेको टिप्पणी गरेका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेस–एमालेले प्रचण्डको झुठ थाहा पाएपछि अहिलेको गठबन्धन बनेको बताएका हुन् । सडकतिर बेच्न राखिएको कालो सिसीको औषधिले सबै रोग निको हुन्छ भनेर सोझासाझालाई भ्रममा पारेझै प्रचण्डले कांग्रेस–एमालेलाई भ्रममा राखेको उनको भनाइ छ । कांग्रेस–एमाले दुवै दल प्रचण्डको ढाँट्ने बानीबाट दिक्क भएर अहिलेको गठबन्धन बनेको उनको भनाइ छ ।

‘उहाँ (प्रचण्ड) ले राजनीतिक कसरी सुरु गर्नुभयो भने, रत्नपार्कमा कालो सिसीमा राखेर औषधि बेच्ने हुन्छ नि, कालो सिसीमा भएको दवाइले घुडादेखि टाउकोसम्मको रोग चट्टै हुन्छ भन्ने किसिमले कांग्रेसलाई ढाँट्नुभयो । एमालेलाई ढाँट्नुभयो । कालो सिसीको औषधि खाएको, न घुँडा दुखेको ठीक हुन्छ, न टाउको दुखेको ? केही पनि ठीक हुँदैन । कांग्रेस पनि प्रष्ट भयो, यो कालो सिसीको औषधि केही पनि काम लाग्ने रहेन छ । एमालेले पनि त्यही थाहा पायो । प्रचण्ड कमरेडको कालो सिसीको औषधि विक्रि हुन छाडेको हो,’– उनले भने ।

कांग्रेस–एमालेले रातको समयमा अमुक व्यापारीको घरमा बसेर प्रचण्ड सरकार ढाल्ने सम्झौता गरेको भन्ने आरोपको खण्डन गर्दै उनले माओवादीले १२ बुँदे सम्झौता दिल्लीमा गरेको बिर्सन नहुने बताए । उनले देशको व्यवस्था परिवर्तन हुने सम्झौता विदेशी भूमिमा गर्ने माओवादीले सरकार बनाउने बारेको सम्झौता कतै नेपाली भू–भागमा हुने कुरालाई अन्यथा मान्न नहुने बताए ।

‘माओावादी अध्यक्षले १२ बुँदे सम्झौता कहाँ गर्नुभयो ? भारतको भूमिमा राति–राति बसेर नेपालको त्यत्रो राजनीतिक परिवर्तनको एजेण्डामा सम्झौता गर्ने ?’ उनले प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्