Logo

भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा सरकारको ध्यान केन्द्रीत छः प्रधानमन्त्री ओली



काठमाडौँ, १ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन् । नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएका बताएका हुन् ।

“सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय(समयमा परिवर्तन भइरहन्छ । अहिलेको परिवर्तनले नागरिकमा नयाँ आशा र भरोसा जगाएको छ”, उनले भने ।

सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो । उनले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले अध्यक्ष ओलीले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

प्रधानमन्त्री ओलीले मनसुनका कारण मुलुकका केही स्थानमा बाढीपहिरोबाट सडक, पुल भत्केका र जनधनको क्षति भएको वास्तविकता सुनाउँदै देशको भौगोलिक स्थितिले पनि यस्ता विपद्बाट जोगिन कठिनाइ भएको बताए । उनले मन्त्रिपरिषद्को पहिलो बैठकले पनि दैवीविपत्ति जोखिम न्यूनीकरणलाई पहिलो प्राथमिकतामा राखेको बताए ।

प्रधानमन्त्री ओलीले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका सम्बन्धमा गृहमन्त्रीले पनि प्राथमिकतामा साथ काम गरिरहेको उल्लेख गरे । जाजरकोट भूकम्पपीडितको आवास निर्माणका लागि किस्ता रकम उपलब्ध गराउन पनि सरकार सकारात्मक रहेको पनि उनले बताए ।

ओलीले एक वर्षभित्र कुनै पनि बालबालिका कुनै पनि कारणले सडकमा अलपत्र पर्ने अवस्था आउन नदिने बताए । “बालबालिका भविष्यका कर्णधार हुन् तिनलाई फस्टाउन दिनुपर्छ,”– उनले भने ।

प्रधानमन्त्रीले कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा तीन सय दिनभित्र प्यारापिट र फ्लड लाइटको व्यवस्था गरिने बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्