Logo

माओवादीले खोज्यो लेखा समितिको नेतृत्व, सभापतिमा लेखनाथ दाहालको सशक्त दाबी



काठमाडौं,२ साउन । हालै सत्ताबाट हुत्तिएर प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रले संघीय संसद अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापतिमा दाबी गरेको छ ।

मंगलबार बसेको लेखा समितिको बैठकमा माओवादीले सो समितिको नेतृत्वमा दाबी पेश गरेको हो । लेखा समितिको सभापति हाल ऋषिकेश पोखरेल छन् । उनी नेकपा एमालेका सांसद हुन् ।

एमोलले सरकारको नेतृत्व गरेपछि प्रमुख प्रतिपक्षले लेखा समितिको नेतृत्व पाउनुपर्ने माओवादीको माग छ । मंगलबारको बैठकमा माओवादी केन्द्रका सांसदहरू जनार्दन शर्मा, अमनलाल मोदी, लेखनाथ दाहालले प्रमुख प्रतिपक्षी दलले सार्वजनिक लेखा समितिको नेतृत्व गर्ने संसदीय अभ्यास रहेको बताएका छन् ।

‘लेखा समितिको नेतृत्व सामान्यतया प्रतिपक्षी दलले गर्ने अभ्यास रहेको छ । त्यो हुँदा सभापतिज्यूको दल सत्तामा रहेको अवस्थामा समितिको नेतृत्व हामीले लिनुपर्ने अभ्यास छ । यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो भनाई हो’ मंगलबारको बैठकमा माओवादीका सांसदले भनेका थिए ।

जवाफमा समिति सभापति पोखरेलले यो विषयमा व्यक्तिगत रूपमा आफ्नो कुनै आपत्ति नरहेको बताएको एक नेताले जानकारी दिए । तर विगतमा राजनीतिक सहमतिका आधारमा समिति गठन भएकोले फेरि पनि नयाँ निर्णय लिनका लागि राजनीतिक सहमति हुनुपर्ने उनले स्मरण गराएका थिए ।

लेखा समितिको नेतृत्वमा दाहालको दाबी

माओवादीले भनेजस्तै एमालेले लेखा समितिको नेतृत्व छाडेमा नेकपा माओवादी केन्द्रले यसको नेतृत्व लिनेछ । हाल समितिमा माओवादीबाट अमनलाल मोदी, जनार्दन शर्मा र लेखनाथ दाहालगरि तीन जना सांस सदस्य छन् । शर्मा र मोदी मन्त्री भईसकेको हुँदा माओवादीले सिन्धुली- २ बाट निर्वाचित सांसद दाहाललाई सो समितिमा पठाउने अनुमान गरिएको छ । त्यसो त पूर्वाधार विकास समितिको सभापतिमा चर्चा गरिएका सिन्धुपाल्चोकका माधव सापकोटा पनि अर्का दावेदार हुन् ।

निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्रिपरिषद् पुनर्गठन हुँदा सूचना तथा सञ्चारमन्त्री बन्ने चर्चा गरिएका सापकोटा सत्ता गठबन्धन भत्किएपछि मन्त्री बन्नबाट छुटेका थिए ।



प्रतिक्रिया दिनुहोस्