Logo

सिमलताल पहिरो अपडेट: त्रिशुलीमा वेपत्ता ६५ यात्रुमध्ये हालसम्म १७ जनाको शव फेला, ११ को सनाखत (सूचीसहित)



काठमाडौं,२ साउन । गत असार २८ गते नारायणघाट-मुग्लिन सडक अन्तर्गत चितवनको सिमलतालमा लेदोसहितको पहिरोमा परी बेपत्ता भएका दुईवटा यात्रुवाहक बसमा रहेका यात्रुमध्ये १७ जनको शव फेला परेको छ ।

उक्त पहिरोमा परी वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा बेपत्ता भएका थिए । एन्जलमा ३८ र गणपति बसमा २७ जना गरी ६५ यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

सोही दिन बुटवलबाट काठमाडौं आउँदै गरेको लु २ ख ६५६६ नम्बरको बसमा ढुंगा खसेर लाग्दा उक्त बसका लागि पश्चिम नवलपरासीका बस चालक ३६ वर्षीय मेघनाथ विकको मृत्यु भएको थियो ।

पहिरोमा परेको गणपति डिलक्स बसबाट हामफालेर बच्न सफल नन्दन दासको उपचार भइरहेको छ भने जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता डिस्चार्ज भइसकेका छन् ।

प्रहरीका अनुसार हालसम्म १७ जनको शव फेला परेकामा ११ जनाको सनाखत भएको छ । एक जनाको सनाखतमा भने विवाद रहेको प्रहरीले जानकारी दिएको छ ।

यसैबीच बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् ।

उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो ।



प्रतिक्रिया दिनुहोस्