Logo

अब पनि सुध्रिन नसके माओवादीको युग समाप्त हुन्छः सुदन किराती (भिडिओसहित)



काठमाडौं, २ साउन । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री सुदन किरातीले पार्टीलाई सरकारमा जान जनताले म्यान्डेट नै नदिएको टिप्पणी गरेका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अब माओवादीले भविष्यमा पनि सरकारतिर नजर नलगाएर जनताको समस्या र पार्टीको पुनरुत्थानमा लाग्नुपर्ने बताएका हुन् । अब पनि सुध्रिन नसके माओवादीको युग समाप्त हुने उनको भनाइ छ ।

‘खास भन्ने हो भने हामीलाई जतताले सरकारमा जाने म्याण्डेट दिएको होईन । अब भविष्यमा पनि हामीले सरकारतिर नजर लगाउन हुँदैन । जनताको समस्या र पार्टीको पुनरुत्थानको बाटोमा हामी आजैदेखि लाग्नुपर्छ । माओवादी सुध्रिनै पर्छ, यदि सुध्रिन सक्दैन भने समाप्त हुन्छ । माओवादीको युग समाप्त हुन्छ, उ सुध्रिन सक्दैन भने,’– उनले भने ।

नेता किरातीले माओवादी विगत १८ वर्षमा लामो समय सरकारमा रहेकोतर्फ लक्षित गर्दै अब समीक्षा गर्ने बेला आएको बताए । यो दौरानमा मिलिजुली सरकारको पार्ट भएर माओवादी सत्तामा जाँदा गरेका राम्रा, नराम्रा कामको समीक्षा गरेर गल्तीबाट सुध्रिने हिम्मत राख्नुपर्ने उनको भनाइ छ । संविधान बनाउने चक्रमा धेरै रुमलिनुपर्दा शान्ति प्रक्रियाको बाँकी काम अधुरै रहेको पनि उनले बताए ।

‘शान्ति प्रक्रियापछिका १८ वर्षमा हामीले के कति राम्रा काम गर्यौं र के–कति नराम्रा काम गर्यो ? यो हाम्रो पार्टीभित्र र्निममतापूर्वक समीक्षा गर्नुपर्छ । हामीले गरेको गल्तीबाट सुध्रिने संकल्प गर्नुपर्छ । हामी यो दौरानमा मिलिजुली सरकारमा एउटा पार्ट भएर गएका छौं,’– नेता किरातीले भने ।



प्रतिक्रिया दिनुहोस्