Logo

प्रचण्डमाथि बाबुरामको अर्को प्रहार: समाजवादी मोर्चा आफूबाट चोरेको आरोप



काठमाडौं,२ साउन । हालै सत्ताबाट बाहिरिएका नेकपा माओवादी केन्रदका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र हाल नेपाल समाजवादी पार्टीको नेतृत्व गरिरहेका डा बाबुराम भट्टराई कुनै समय एउटै पार्टीमा थिए । एउटै पार्टीमा रहेका १० वर्ष लामो सशस्त्र संघर्ष गरेका यी दुई नेताको सम्बन्ध पछिल्ला दिनमा अत्यन्तै तिक्ततापूर्ण बनेको छ ।

प्रचण्डले हालै सत्ता गुमाउँदा सबैभन्दा धेरै खुसी देखिएका पूर्व प्रधानमन्त्री डा भट्टराई निरन्तररुपमा प्रचण्डमाथि खनिँदै आएका छन् । उनले फेरि एकपटक प्रचण्डमाथि संघिन आरोप लगाएका छन् । भट्टराईले समाजवादी मोर्चा आफूबाट चोरेको आरोप लगाउँदै प्रचण्डमाथि प्रश्नैप्रश्न उठाएका छन् ।

मंगलबार काठमाडौंमा समाजवादी मोर्चाको बैठकमा नेसपाबाट अलगिएको एउटा समूह सहभागी भएपछि भट्टराईले पुनः प्रचण्डमाथि प्रश्न उठाएका छन् । प्रचण्ड सत्ताबाट हटेपछि समाजवादी मोर्चा ब्यूँताएको छन् । मोर्चामा प्रचण्डले बाबुरामलाई अटाएनन्। तर, अहिले उनैको पार्टीबाट अलग भएर आएका महेन्द्र यादवलाई समावेश गराएपछि थप रुष्ट बनेका छन् ।

उनले भनेका छन्, ‘पहिले सत्तामा छँदा उहाँहरूलाई सांसद संख्या पुर्याउनु थियो । अर्को पार्टीबाट निर्वाचन लडेको र जितेको (ऐनको प्रावधान अनुसार नै साझा चुनाव चिन्ह लिएको) मान्छेलाई जबर्जस्ती आफ्नो पार्टीको सांसदको रूपमा प्रस्तुत गर्नुभयो ! हामीले स्वीकार्यौं !’

उनले गण्डकी प्रदेशको मुद्दामा सर्वोच्च अदालतले जुन दलको उम्मेदवार हो सोही दलको सांसद रहने अन्तरिम आदेश दिइसकेको उल्लेख गरेका छन् । उनले दल त्याग गरिसकेको यावद समूहलाई कानून बमोजिम सबै प्रक्रिया पुर्याएर पार्टीबाट बिदा गरिसकेको जिकिर गरेका छन् ।

अध्यक्ष भट्टराईले भनेका छन्, ‘अहिले उहाँहरू सडकमा पछारिनु भएको छ ! ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा÷ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहनु भएको छ ! केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहनु भएको छ ।’

उनले निवर्तमान प्रम र पूर्वप्रमहरूले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन् ‘निवर्तमान प्रम र पूर्व प्रमहरूले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन? वहाॅहरू संविधान र कानून भन्दा माथि हो? राजनीतिमा नैतिकता र मूल्यमान्यता भन्ने केही जिनिस हुॅदैन? सत्ता नै सबै थोक हो? यसरी आउॅछ ‘समाजवाद’ ?



प्रतिक्रिया दिनुहोस्