Logo

प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशनः ‘निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिनु’



काठमाडौंँ, २ साउन । गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताएका छन् । .प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उनले संविधान र कानुनमा लेखेको कुरा आफैं कार्यान्वयनमा प्रहरी प्रशासनको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् । ‘संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ,’– उनले भने, ‘ती आफैं परिचालित र क्रियाशील हुने होइनन् ।’

उनले लोकतन्त्रको आधारभूत मान्यता विधिको शासन रहेको बताए । ‘लोकतन्त्र कुनै अमूर्त विषय होइन । नेताहरुले भाषण गर्ने र नागरिकले भाषण सुन्ने विषय मात्रै पनि होइन । लोकतन्त्रको आधारभूत मान्यता हुन्छन्, विधिको शासनपनि एउटा मान्यता हो,’– उनले भने ।

निष्पक्षता, पारदर्शीता र व्यवसायिकतामा कमी हुन नदिन निर्देशनसमेत उनले दिए । ‘उच्च मनोबलका साथ काम गर्नुहोला, प्रहरीको मनोबल उच्च राख्नको लागि र मनोबल उच्च रहिरनका लागि प्रेरणादायी काम गर्न मन्त्रालयले गर्नेछ ।’ गृहमन्त्री लेखकले भने, ‘हामी त्यसमा प्रतिबद्ध छौँं ।’

गृह प्रशासन आफ्ना लागि नयाँ अनुभव भए पनि संसद्मा कानुन र संविधान निर्माणको क्षेत्रमा काम गर्ने अवसर लामो समयदेखि पाएको उनको भनाइ थियो । ‘नेपाल प्रहरी इतिहास बोकेको गर्व लगर्न लायक संस्था हो । कानुनी व्यवस्था कायम गर्ने,अपराध नियन्त्रण गर्ने सवालका साथै मुलुक र समाजलाई न्यान दिने सवालमा प्रहरीको अहम् भूमिका रहेको छ,’– उनले भने ।

गृहमन्त्री लेखकले सीमित स्रोतसाधन र जनशक्तिकाबीच प्रहरीले काम गरिरहेको बताए । प्रहरी सङ्गठन थप सुदृढ र क्रियाशील बनाउन प्रहरी ऐन संशोधन आवश्यक रहेको उनले बताए ।

उनले प्रहरीसम्बन्धी सबै कानुन समयसामयिक रुपमा पुनवराकोलन र संशोधन गर्न प्रहरी ऐन २०१२ लाई संसद्मा पुर्याउने गतिमा अघि बढ्नेमा जोड दिए । कानुनबमोजिम काम गर्नुका साथै प्रहरीमा कुनै प्रकारको अवाच्छित् दबाब र प्रहरी संस्थाको दुरुपयोग गर्न नहुने उनको भनाइ छ ।

‘मानिसले बिरामी परे डाक्टर र विपत् परे प्रहरीलाई सम्झिने गरेको छ । त्यस कारण प्रहरी समाजको डाक्टर पनि हो, किनभने दुः ख पीडा र अप्ठ्यारोमा परेको मानिसले तपाईहरुलाई सम्झिन्छ,’– उनले भने ।

सो अवसरमा गृह सचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरको उपस्थिति रहेको थियो । मन्त्री लेखकको प्रहरी प्रधान कार्यालयमा रहेको अमर सहिद प्रहरीको शालिकमा माल्यार्पण गर्नुका साथै विभिन्न विभागको अनुगमन गरेका थिए । Photo: Nepal Police



प्रतिक्रिया दिनुहोस्