Logo

काठमाडौं र वीरेन्द्रनगरमा घर, ५ ठाउँमा जग्गा भएका कर्णालीका मुख्यमन्त्री कँडेल ४५ लाख ऋणमा



काठमाडौं,३ साउन । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसहितका सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

बिहीबार मुख्यमन्त्री कँडेलसहित क्याबिनेटका सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको हो । सार्वजनिक सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री कँडेलको काठमाडौं र सुर्खेतको वीरेन्द्रनगरमा गरेर दुई ठाउँमा घर रहेको छ भने श्रमिती गीता अधिकारी कँडेलको नाममा विभिन्न ५ ठाउँमा जमिन पनि रहेको छ ।

कँडेलको नाममा वीरेन्द्रनगर नगरपालिका ४ स्थित कित्ता नम्बर १५२ मा रहेको ०-३-१२-३/४ वर्गमिटरमा रहेको घर रहेको छ । भने श्रीती गीताको नाममा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकास्थित १९० वर्गमिटरमा फैलिएको घर रहेको छ । सो घर पुख्यौंली सम्पत्ति बेचेर ०५७ सालमा खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

त्यस्तै कँडेलको नाममा वीरेन्द्रनगर नगरपालिका–९ मा ०.८.१४ वर्गमिटर र उनकी श्रीमतीको नाममा वीरेन्द्रनगर १० मा ०.१.८.२, वडा नम्बर ४ मा ०.०.१८ र ०.०.१३.१९ वर्गमिटर क्षेत्रफलमा फैलिएको जमिन छ ।

यस्तै श्रीमती अधिकारीकै नाममा काठमाडौँको गोठाटार मुलपानी–४, मा ८ आना जमिन रहेको उल्लेख छ । चल सम्पत्तिमा कँडेलसँग १० तोला सुन रहेको र उक्त सुन केही पुर्ख्यौली र केही खरिद गरेको जनाइएको छ ।

कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ । जस अन्तर्गत कँडेलको एभरेष्ट बैंक काठमाडौँमा १ लाख २४ हजार २३७.६४ रुपैयाँ रकम मौज्दात छ भने एनआइसी एशिया बैंकमा ३ लाख २४ हजार २५६ रुपैयाँ बचत र १२ लाख मुद्दति खातामा छ ।

यस्तै कँडेलको ललितपुरको क्यारिना सहकारीमा १ लाख १५ हजार १५३ रुपैयाँ बचत छ भने पिपलबोट सहकारीमा ७५ हजार ३२२ रुपैयाँ बचत छ । राष्ट्रिय वाणिज्य बैंकमा २५ हजार, जनहितकारी सहकारी संस्थामा ८० हजार ९० रुपैयाँ बचत रहेको उनले उल्लेख गरेका छन् ।

यस्तै श्रीमती गिता अधिकारीको नाममा ग्लोबल आईएमई बैंकमा १ लाख ९० हजार ३०५, जनहितकारी सहकारीमा १ लाख ६३ हजार ७८३, क्यारिना सहकारी ललितपुरमा १ लाख ३० हजार ६३७, लक्ष्मी विकास बैंकमा ८ लाख ७ हजार र पिपलबोट सहकारी संस्थामा ७८ हजार ७०६ रुपैयाँ मौज्दात रहेको उल्लेख छ ।

उक्त रकम पारिश्रमिक, घरभाडा, बोनस, सापटी फिर्ता लगायतबाट जोडेको मुख्यमन्त्री कँडेलले उल्लेख गरेका छन् । कँडेलले श्रीमतीको पेसाबारे भने खुलाएका छैनन् । कँडेलले राष्ट्रिय वाणिज्य बैंकबाट ४५ लाख ऋण लिएको विवरणमा उल्लेख गरेका छन् ।

मुख्यमन्त्री कँडेलले आफूसँग २ वटा मोवाइल, एक थान ल्यापटप, २ वटा घडि र एकथान ट्याबलेट पनि रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । कँडेलले बुझाएको सम्पत्रि विवरण हेर्दा गरिव प्रदेश कर्णालीका धनी मुख्यमन्त्री भन्न सुहाउने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्