Logo

जनमतलाई एउटा मन्त्रालय दिने ओलीको वचन



काठमाडौं, ३ साउन । जनमत पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य अब्दुल खानले सरकारलाई समर्थन दिएपछि सरकारमा जानुपर्ने बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारलाई समर्थन दिइसकेपछि मन्त्रिपरिषद्मा पनि सामेल हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको बताएका हुन् ।

साथै, प्रधानमन्त्री केपी शर्मा ओली जनमतलाई एउटा मन्त्रालय दिन तयार रहेको पनि उनले बताए । कांग्रेस–एमालेका नेताहरुले जनमतलाई सरकारमा सहभागी गराउनुपर्छ भनिरहेको उनको भनाइ छ । नेता खानले पार्टी संघ र प्रदेश दुवै सरकारमा सहभागी हुनुपर्ने बताए ।

‘केन्द्रीय सरकारमा नजाने भन्ने कुरा छैन । तर, केही दिनपछि मन्त्रालयहरुलाई यसो टुङ्गो लगाएर कताबाट हुन्छ, कुनै मन्त्रालय खाली गराएर भएपनि जनमत पार्टीलाई समावेश गर्ने भन्ने उहाँहरुको भनाइ छ । जनमत पार्टीलाई एउटा मन्त्रालय दिन्छौं भन्नुभएको छ,’– नेता खानले भने ।

सरकारलाई समर्थन दिइसकेपछि मन्त्रिमण्डलमा पनि सामेल हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले सुनाए । मधेश प्रदेशका मुख्यमन्त्री आफ्नै पार्टीको रहेको स्मरण गराउँदै उनले अहिले पहिलो प्राथमिकता प्रदेश सरकार रहेको बताए । उनले मधेशमा कायम रहेको समस्या समाधान भएपछि केन्द्रमा पनि सहभागी हुने र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि दिने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्