Logo

कांग्रेस र एमालेबीच कुरा नमिल्दा लुम्बिनीका मुख्यमन्त्री महराले राजीनामा दिन पाएनन् !



काठमाडौं,३ साउन । लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकार अल्पमतमा परेको २ साता हुन लागिसकेको छ ।

सत्ता साझेदार दल नेकपा एमाले र जसपाले सरकार छाड्दै सरकारमाथिको समर्थन झिकेपछि प्रष्ट अल्पमतमा परेका महराले केही दिनमै मार्ग प्रशस्त गर्ने तयारी गरेको समाचार सार्वजनिक भएको एक साता भईसकेको छ । तर, उनले न त राजीनामा दिएका छन् । नत विश्वासको मत लिने मिति नै तय गरेका छन् । बरु मुख्यमन्त्री महराले आफू राजीनामा दिन तयार रहेको तर, आगामी मुख्यमन्त्री को हुेन भन्ने नटुंगिएको कारण राजीनामा दिन नपाएको दाबी गरेका छन् ।

बिहीबार आफूलाई भेट्न पुगेका केही नेताहरुसँग कुरा गर्दै महराले आफू पद छाड्न तयार रहेको तर आगामी मुख्यमन्त्री को हुेन भन्ने नटुंगिएको हुँदा राजीनामा दिन नपाएको जिकिर गरेको स्रोतले जनाएको छ । नयाँ मुख्यमन्त्री बन्ने व्यक्ति तय हुनासाथ आफूले पद छाड्ने महराको भनाइ छ ।

केन्द्रमा बनेको नयाँ सत्ता गठबन्धनअनुसार लुम्बिनीमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने चर्चा छ । महरा नेकपा माओवादी केन्द्रका सांसद हुन् । लुम्बिनीमा नेपाली कांग्रेस र एमाले मिल्दा प्रष्ट बहुमत र साना दल पनि मिसिँदा दुई तिहाई बहुमत पुग्ने र आफ्नो विश्वासको मत फेल हुने निश्चित भएपछि उनले राजीनामा दिने बताउँदै आएका थिए । यता कांग्रेसले पनि प्रदेश सरकारमा दाबी गरेको छ । लिला गिरी र डिल्लीबहादुर चौधरी दुवै पूर्व मुख्यमन्त्री हुन् । गिरी एमाले र चौधरी कांग्रेसका नेता हुन् । यी दुवैले मुख्यमन्त्री बनाउन माग गर्दै केन्द्रीय नेतृत्व गुहारेका छन् । केन्द्रमा छलफल जारी रहेको हुँदा केही दिनमै निकास निस्किने नेताहरु बताउँछन् ।

लुम्बिनी प्रदेशमा एमालेका २९ सदस्य छन् । कांग्रेसका २७ जना छन् । दुई दलको मात्र जोड्दा ५६ पुग्छ । ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेश सभा सदस्य आवश्यक पर्छन् । ठूला दलले सरकार बनाउने भएपछि प्रदेशका राप्रपा, नागरिक उन्मुक्ति, लोसपा, जनमत, जसपा, जसपा नेपाल लगायतका दलले पनि एमाले कांग्रेसको सरकारलाई समर्थन गर्ने जनाएका छन् ।

अल्पमतमा परेका मुख्यमन्त्री महराको समर्थनमा अहिले माओवादीका १०, नेकपा एसका एक र राष्ट्रिय जनमोर्चाका एक गरी १२ सदस्य मात्र छन् । एक स्वतन्त्रले अझै निर्णय लिएका छैनन् ।

यता प्रदेश प्रमुख अमिक शेरचनले पनि राजीनामा दिने तयारी गरेका छन् । पछिल्लो समय राजनीतिक समीकरण फेरिएको र आफ्नो स्वास्थ्यले पनि साथ नदिएकाले अब पदमा धेरै समय नबस्ने जानकारी उनले आफू निकटहरूलाई दिएको स्रोतले बतायो ।

पुराना वामपन्थी नेता शेरचन माओवादीका तर्फबाट प्रदेश प्रमुख बनेका थिए । लुम्बिनीमा प्रदेश प्रमुख हुनुअघि गण्डकी प्रदेशको प्रदेश प्रमुख बनेका उनी पछिल्लो समय बिरामी रहेका छन् । केही दिनअघि काठमाडौंमा उपचार गरेर फर्किएका उनी प्रदेशमा नयाँ सरकार बन्नासाथ राजीनामा दिने तयारीमा रहेको स्रोतले बतायो । आफ्नो स्वास्थ्य अवस्थाले काम नगरेको भन्दै उनले मुख्यमन्त्री महरालाई विश्वासको मत लिने कि राजीनामा दिने भन्नेबारे चाँडो निक्यौंल गर्न भनेको स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्