Logo

बजेट होलिडे हुँदापनि पद छाड्ने पक्षमा छैनन् सुदूरका मुख्यमन्त्री सोडारी, अध्यादेश ल्याउन काठमाडौंमा पठाए अधिवेशन अन्त्यको पत्र



काठमाडौं,३ साउन । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि प्रष्टरुपमा अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घराज सोडारीले चालु अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई पत्र पठाएका छन् ।

प्रदेश प्रमुख नाजिर मियाँ प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन काठमाडौं गएका थिए । मियाँ काठमाडौं जानुअघि नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । तर प्रदेश प्रमुखले सरकारको सिफारिस कार्यान्वयन नगरी काठमाडौं गएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २९ असारमा प्रदेश प्रमुखलाई प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको जानकारी दिएको छ । प्रदेश प्रमुखको कार्यालयले भने उनी काठमाडौं उडिसकेपछि मात्र सरकारको पत्र प्राप्त भएको बताउँदै आएको छ ।

असार २० गते एमाले सरकारबाट बाहिरिएको थियो । एमाले र कांग्रेस मिलेर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमित भईसकेको छ । नयाँ सहमति अनुसार अघि बढ्न भन्दै दुई दलले राजीनामा माग्दै आएका छन् । यता सोडारी भने तत्काल विश्वासको मत नलिने र ३० दिनको दिन प्रदेश सभामा आफ्ना कुरा राखेर राजीनामा दिने तयारी गरेका छन् ।

एमाले सरकारबाट बाहिरिएसँगै आगामी आर्थिक वर्षको बजेट पारित हुन नसक्दा प्रदेश सरकार खर्च शून्यतामा पुगेको छ । असार मसान्तमा प्रदेश सभाले बजेट पारित नगर्दा बजेट होलिडे भएको छ । सरकारले खर्च गर्न कुनै पनि रकम नहुँदा समस्या उत्पन्न भएको छ ।

यता सोडारीले भने प्रदेश प्रमुख मियाँले अधिवेशन अन्त्य गरिदिएमा अध्यादेश ल्याएर शासन गर्ने सुर गरेका छन् । तर, मियाले अधिवेशन अन्त्यको पत्र कार्यान्वयन नगरेमा भने के गर्ने भन्ने दोधारमा मुख्यमन्त्री सोडारी परेका छन् । सुदूर प्रदेश सभा ५३ सदस्यीय छ । सरकार गठनका लागि २८ जनाको समर्थन आवश्यक पर्छ । पहिलो दल कांग्रेसका १८ र एमालेका ११ गरि २९ सांसद रहेको हुँदा सहजै नयाँ सरकार बन्ने अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्