काठमाडौं, ३ साउन । नेपाली सेनाका पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले केही सांसदहरुले नेपाली सेनाको विरुद्धमा बोलेको भन्दै आपत्ति जनाएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले केही तत्वहरु निरन्तर रुपमा सेनाको विरुद्ध लागेको बताएका हुन् ।
‘केही उश्रृङ्खल सांसदहरुले सेनालाई थुकेका छन् । आम सञ्चारले सेनालाई नै हेरिरहेको छ । सबैले सेनालाई गाली गरिरहेको छ । सबैले सेनालाई थुकिरहेको छ । बहालवाला जर्नेलहरु तपाईँहरु एक हुनुस्,’– उनले भने ।
साथै, सेनाका केही उच्च अधिकारीहरुको नक्कली सर्टिफिकेट र दोहोरो नागरिकता रहेको भन्दै उनले तिनीहरुको कठालो समात्नुपर्ने बताए । उनले अहिले हुनेवाला प्रधानसेनापति अशोक सिग्देलको प्रमाणपत्रबारे पनि प्रश्न उठिरहेको बताए । उनले प्रधानसेनापतिले अशोक सिग्देलको प्रमाणपत्र राज्य व्यवस्था समितिमा पेश गरेर बढुवा भएको अवस्थामा अब गाली गर्ने ठाउँ सकिएको बताए । अब सिग्देललाई बद्नामी गर्ने ठाउँ नरहेको उनको भनाइ छ ।
‘कसको नक्कली सर्टिफिकेट छ ? कठालो समात्नुस् न । तीन तारे जर्नेल खान पाउँछ नक्कली सर्टिफिकेटले ? अशोक सिग्देलको सर्टिफिकेट लिएर गएर राज्य व्यवस्था समितिमा पेश गरेर बढुवा दिएको अवस्थामा अब अशोक सिग्देललाई बदनामी गर्ने ठाउँ छैन । राज्य व्यवस्था समितिले किन सिफारिस गर्यो ? किन बढुवा दियो नेपाल सरकारले ?’ उनले प्रश्न गरे ।
साथै, उनले नेपाली सेनाले हस्पिटल, पेट्रोल पम्प, स्कूल खोल्न कल्याणकारीको कोषको नाममा पैसा काट्नु गलत रहेको बताए । उनले अब सेनाले हस्पिटल, पेट्रोल पम्प, स्कूल खोल्न र बाटो खन्ने काम छोड्नुपर्ने उनको भनाइ छ । उनले यी सबै कामको जिम्मा नेपाल सरकारले लिनुपर्ने बताए ।
साथै, उनले रुकमाङ्गद कटवालपछिका कुनै पनि सेनापतिले तल्लो दर्जाका सिपाइँहरुको हक हितको पक्षमा कुनै काम गर्न नसकेको बताए । उनले सेनाका तल्लो दर्जाका सिपाइँहरुको तबल बढाउन सुझाव दिएका छन् । ‘कल्याणकारीको पैसा जति छ, दामासाहीले बाँड । यो पैसामा आँखा लगाएर हरेक सेनापति आउनसाथ जति जग्गा किन्ने, उति जग्गा किन्ने मोज गर्ने ?’ उनले प्रश्न गरे ।
मानव अधिकारकर्मी एवं अधिवक्ता त्रिलोक चन्द (विश्वास विक) ले भावी प्रधानसेनापतिका सिग्देलको नागरिकतामा दुई वटा जन्ममिति रहेको पाइएको बताए । सिग्देलको सन्दर्भमा सर्टिफिकेटमा रहेको विवरण र नागरिकतामा रहेको विवरणबीच फरक परेको हुनसक्ने उनले बताए ।
भावी प्रधानसेनापति सिग्देलको विवादित जन्ममितिबारे छानविन हुनुपर्ने उनले बताए । नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्ममिति फरक परेको अवस्थामा सेनाले अहिलेसम्म कुन जन्ममितिलाई वैद्यता दिएको छ ? सोहीअनुसार गरिनुपर्ने उनले बताए ।
‘गृह मन्त्रालयमा उहाँविरुद्ध उजुरी रहेको छ । त्यो उजुरीअनुसार नै उहाँले गलत गरेको छ भने ऐन, नियमअनुसार उहाँ भागिदार हुनुपर्छ,’– उनले भने ।
साथै, अनजानवस जन्म मिति फरक परेको हो भने सिग्देलले प्रमाणित गरेर देखाउन पर्ने बताए । नेपाली सेनाजस्तो जिम्मेवार र सम्मानित संस्थाको प्रमुख निर्विवादित र स्वच्छ छविको हुनुपर्ने उनको भनाइ छ । सिग्देलले आफूमाथि उठेका विषय स्पष्ट पार्नुपर्ने बताए । अधिवक्ता चन्दले सिग्देल निर्दोष हुन् भने बढुवा रोक्नुपर्ने अवस्था नआउने बताए ।