Logo

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई बजेट अध्यादेश ल्याउने बाटो खुल्यो



काठमाडौं,४ साउन । सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागु हुनेगरी जारी बजेट अधिवेशन अन्त्य गरेका हुन् । अधिवेशन अन्त्यसँगै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बजेट अध्यादेश ल्याउन बाटो खुलेको छ । हाल प्रदेश सरकार बजेट शून्यताको अवस्थामा छ ।

प्रदेश सभा सचिवालयका अनुसार सरकारको सिफारिसअनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा २ अनुसार चालु अधिवेशन अन्त्य गरेका हुन् । प्रदेशको मन्त्रिपरिषद् बैठकले २९ असारमा प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

प्रदेश सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेपनि प्रदेश प्रमुख मिया प्रधानमन्त्री केपी शर्मा ओलीको शपथग्रहण समारोहमा सहभागी हुन काठमाडौं आएपछि सो पत्र अलपत्र परेको थियो । स्वास्थ्य अवस्थालाई देखाएर प्रदेश प्रमुख केही दिन काठमाडौंमा नै रनहे भएपछि सोडारीले हिजो अधिवेशन अन्त्यको पत्र काठमाडौंमा नै पठाएका थिए ।

असार २० गते एमाले सरकारबाट बाहिरिएको थियो । एमाले र कांग्रेस मिलेर कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भईसकेको छ । नयाँ सहमति अनुसार अघि बढ्न भन्दै दुई दलले राजीनामा माग्दै आएका छन् । यता सोडारी भने तत्काल विश्वासको मत नलिने र ३० दिनको दिन प्रदेश सभामा आफ्ना कुरा राखेर राजीनामा दिने तयारी गरेका छन् ।

एमाले सरकारबाट बाहिरिएसँगै आगामी आर्थिक वर्षको बजेट पारित हुन नसक्दा प्रदेश सरकार खर्च शून्यतामा पुगेको थियो । असार मसान्तमा प्रदेश सभाले बजेट पारित नगर्दा बजेट होलिडे भएको छ । सरकारले खर्च गर्न कुनै पनि रकम नहुँदा समस्या उत्पन्न भएको छ । अब मुख्यमन्त्री सोडारीले बजेट अध्यादेश जारी गर्ने तयारी गरेका छन् ।

सुदूर प्रदेश सभा ५३ सदस्यीय छ । सरकार गठनका लागि २८ जनाको समर्थन आवश्यक पर्छ । पहिलो दल कांग्रेसका १८ र एमालेका ११ गरि २९ सांसद रहेको हुँदा सहजै नयाँ सरकार बन्ने अवस्था छ भने ७ सीट रहेको नागरिक उन्मुक्ति पार्टीले पनि नयाँ गठबन्धनलाई समर्थन गर्ने बताउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्