Logo

बदनियतपूर्वक बनेको सरकारलाई विश्वासको मत दिँदैनौंः माओवादी नेता दाहाल (भिडिओसहित)



काठमाडौं, ४ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य लेखनाथ दाहालले कांग्रेस–एमालेसहितको सरकारमा आफूहरु सहभागी हुने कुरा कल्पना पनि गर्न नसकिने बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दैै उनले बालकोट र बालुवाटारमा आएको समस्या समाधान गर्न बनेको सरकारमा माओवादी सहभागी हुने कुरा कल्पना पनि गर्न नसकिने बताएका हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादीले विश्वासको मत पनि नदिने बताए ।

‘हामीले विश्वासको मत किन दिने ? पछिल्लो समय राष्ट्रिय सहमतिको राग अलाप्दै राष्ट्रविरोधी, जनविरोधी गतिविधि केन्द्रीत गर्न, भ्रष्टाचारलाई निरन्तरता दिन, भ्रष्टाचारीलाई रक्षा गर्न, भ्रष्टहरुलाई जेलबाट छुटाउन र भ्रष्टहरु जेल जान नपर्ने परिस्थिति सिर्जना गर्ने उद्देश्यले बनेको बदनियतपूर्ण गठबन्धन र त्यसको जगमा बनेको कांग्रेस–एमाले गठबन्धन सरकार, यो सरकारमा हाम्रो सहभागिता त कल्पना नै गर्न सकिँदैन,’– उनले भने ।

माओवादीले अब रचनात्मक प्रतिपक्ष भएर संसद्भित्र प्रभावशाली भूमिका निर्वाह गर्ने उनले बताए । अहिले सरकारको एजेण्डा बालकोट र बुढानीलकण्ठमा आएको समस्या समाधान गर्न बनेको उनको टिप्पणी छ । नेता दाहालले यो गठबन्धनको उद्देश्य राष्ट्र र जनताको हितमा नरहेको बताए ।

पछिल्लो समय कांग्रेस–एमाले प्रतिगामी सोच, चिन्तन र उद्देश्य बोकेर अगाडि बढेको उनको टिप्पणी छ । माओवादी सदन र सडकबाट पनि राष्ट्र र जनताको पक्षमा निरन्तर लागिरहने बताए ।

साथै, कांग्रेस–एमाले नेतृत्वको सरकार बनेपछि बढ्दो अवस्थामा रहेको शेयर बजारले निरन्तरता नपाउने बताए । उनले शेयर बजारमा आधारभूत वर्गभन्दा पनि भ्रष्ट, दलाल र विचौलिया वर्गको पहुँच रहेको उनले बताए । उनीहरुको अनुकूल सरकार बनेपछि शेयर बजार बढेको नेता दाहालको भनाइ छ ।

‘शेयर बजारमा आधारभूत वर्गको पहुँच भन्दा पनि पछिल्लो समय भ्रष्ट, विचौलिया, दलाल र भूमाफियाहरुकै पहुँच बढी छ । उहाँहरुसँग जोडिएको सरकार भएपछि त उहाँहरु अलि बढी उत्साहित हुने कुरा स्वभाविक हो । तर, त्यसले निरन्तरता दिँदैन । अर्थतन्त्र विचौलियाको लागि हो कि जनताको लागि त ?’ उनले प्रश्न गरे । File Photo/RN



प्रतिक्रिया दिनुहोस्