Logo

उपसभामुख रानामाथि राजीनामा दिन दबाब बढ्दै



काठमाडौं,४ साउन । प्रतिनिधि सभाकी उपसभामुख ईन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा मुछिएकी छिन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन सिफारिस गरेर लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख रानामगर विवादमा परेकी हुन् ।

उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्ल्यू ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ ।

रानाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनबहादुर गुरूङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराइदिन आग्रह गरेकी छिन् ।

उपसभामुख रानाले व्यक्तिगत रुपमा पत्र लेखेको र संसद सचिवालयसँग असम्बन्धित व्यक्तिहरुलाई भिसा अन्तर्वार्ताको लागि सिफारिस गरेकाले प्रश्न उठेको हो ।

रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि समस्या नहुने भए पनि उनले सिफारिस गरेका व्यक्तिहरु संसद र संसद सचिवालयसँग सम्बन्धित नरहेपछि विभिन्न कोणबाट प्रश्न उठेको छ ।

उपसभामुख रानाले जस्तो दलिल दिए पनि यो विषयले अब राजनीतिक रुप लिने निश्चित भएको छ । सभामुख देवराज घिमिरेले पनि यस बारेमा चासो लिदै यो गम्भीर विषय भएको बताएका छन् ।

राना भीसा प्रकरणमा मुछिएपछि सत्तारुढ दलका सांसदहरुले उनको राजीनामा माग्न सुरु गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद रहेकी रानाले राजीनामा दिनुपर्ने आवाज सांसदहरुले उठाएपनि उनको मातृपार्टीले भने यसबारेमा केही पनि बोलेको छैन् । यता सांसदसमेत रहेका संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले भने उनले तुरुन्तै राजीनामा दिनुपर्ने बताईसकेका छन् ।

रानाले रकम उठाएर अमेरिका नपाएका पीडितहरुले खतिवडा सभापति रहेको राज्यव्यस्था समितिमासमेत उजुरी गरेका छन् । सो उजुरीबारे विस्तृत अध्ययन भईरहेको उनले जानकारी दिए ।

‘उपसभामुख जस्तो मर्यादित पदमा बसेको व्यक्तिले यस्तो कार्य गर्न सुहाउँदैन । उहाँले ६ गते प्रतिनिधि सभा बैठक बस्नुअघिनै आफ्नो पदबाट राजीनामा दिनुपर्छ । जान्नेलाई छान्ने पार्टीले उपसभामुख बनाएको व्यक्तिबाट यस्तो कार्य हुनु सोभनीय भएन् । यसबारेमा उहाँ र उहाँको दल रास्वपाले जवाफ दिनुपर्छ’ खतिवडाले रिपोर्टर्स क्लब नेपालका लागि पत्रकार कमल बुढाथोकीसँग संक्षिप्त कुराकानी गर्दै भने ।

उपसभामुख रानामाथि यस्तो गम्भीर आरोप लाग्दा पनिउ नी र उनको सचिवालयले कुनै पनि प्रतिक्रिया जनाएको छैन् । यता रानालाई उपसभामुख बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यसबारेमा केही पनि टिप्पणी गरेको छैन् । प्रतिनिधि सभाको बैठक आइतबारका लागि डाकिएको छ । सो समयसम्म रानाले राजीनामा नदिए सदन चर्काउने सत्तारुढ दलका सांसदको तयारी छ ।

रास्वपाले सार्वजनिक रुपमा यसबारेमा केही प्रतिक्रिया नजनाएपनि रास्वपा यस घटनाबारे पहिल्यै जानकार रहेको पाईएको छ । रास्वपाका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लmामिछाने, उपसभापति तथा निवर्तमान श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल, रास्वपाले हालै निकालेको महामन्त्री डा मुकुल ढकाल र सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीलगायतको कोर टिमलाई यसबारेमा पहिल्यै जानकारी भएको खुलेको छ ।

अमेरिकी दूतावासले भीसा नदिएपछि सिफारिस गरिएका ६ जनामध्ये केही युवाले रास्वपाको कोर टिमलाई जानकारी गराउँदै ध्यानाकर्षण गराएको र रास्वपाले भने यसलाई पार्टी भित्रैबाट सामसुम पार्ने प्रयास गरेको तथ्य सार्वजनिक भएको छ । उजूरीपछि पार्टीभित्र छलफल हुँदा इलाममा उपचुनावको तयारी भइरहेकाले यो विषय भित्रभित्रै सामसुम पारिएको स्रोतको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्