Logo

मानव तस्करीका लागि उपसभामुख रानाले पदको दुरुपयोग गरेको कांग्रेस नेता खतिवडाको आरोप (भिडिओसहित)



काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य रामहरि खतिवडाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले मानव तस्करीको लागि पदको दुरुपयोग गरेको आरोप लगाएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपसभामुख रानाले मानव तस्करीकै लागि पत्र लेखेको दाबी गरेका हुन् ।

उपसभामुख रानाले नेपालस्थित अमेरिकी दूतावासमा पाँच जना युवाहरुलाई भिसा दिलाउन भन्दै आफ्नो कार्यालयको लेटरहेडमा सिफारिस गरेकी थिईन् । उनले अमेरिकी दूतावासको कन्सुलर जनरललाई पठाएको पत्रमा सन् २०२३ मार्च ६ देखि १७ तारिखसम्म अमेरिकाको न्यूयोर्कमा आयोजित एनजीओ ‘सिएसडब्यू–६७’ फोरमको कार्यक्रममा आफूसँगै ती युवाहरुलाई लैजाने ब्यहोरा उल्लेख गरेकी थिईन् ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले उपसभामुख रानाले गम्भीर अपराध गरेको टिप्पणी गरे । संवैधानिक परिषद्को सदस्य रहने उपसभामुख पदमा रहेको व्यक्ति कुनै देशको कार्यक्रममा सहभागी हुन जाँदा प्रक्रिया पुर्याउनुपर्ने उनको भनाइ छ । उपसभामुख खतिवडाले आफूलाई निमन्त्रणा आएपछि उक्त कुरा संसद् सचिवालयलाई जानकारी गराउनुपर्ने र संसद् सचिवालय मार्फत परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित देशको राजदूतावासमा पुग्नुपर्ने उनले बताए । उपसभामुख रानाले मानव तस्करीकै लागि पदको दुरुपयोग गरेको उनको आरोप छ ।

‘यो चाहीँ मानव तस्करीकै लागि प्रयोग गरिएको पत्र हो । घोर आपत्तिजनक छ, जसले गरेको होस् ।’ नेता खतिवडाले भने, ‘उपसभामुख परिषदको सदस्यको रुपमा रहने प्रचलन छ । यस्ता मान्छे संवैधानिक परिषद्मा रहेभने के होला ?’

उपसभामुख रानाले लेखेको पत्र रास्वपाले पहिले नै थाहा पाएर गुपचुप राखेको बताए । पैसाकै लागि उपसभामुखले पदको दुरुपयोग गरेको उनको भनाइ छ ।

साथै, उनले रास्वपाका बारेमा अब आफूले धेरै टिप्पणी नगर्ने पनि बताए । रास्वपाका बारेमा महामन्त्री मुकुल ढकालले नै बोलिसकेकाले अब अरुले बोल्न आवश्यक नरहेको उनको भनाइ छ । ‘उहाँको पार्टीको बारेमा उहाँको महामन्त्रीले नै सबै भन्नुभएको छ ।’ उनले भने, ‘हुँदाहुँदा अहिले माहामन्त्रीको बारेमा गजेडीको गफ के सुन्नु भन्ने पनि आएको छ । पार्टीको महामन्त्री नै त्यस्तो राख्नुभएको छ भने सभापति कस्तो हुनुहोला ?’ File Photo



प्रतिक्रिया दिनुहोस्