Logo

न्युरोड क्षेत्रको फुटपाथ विस्तारमा स्थानीयको अवरोध, सयौंको संख्यामा सुरक्षाकर्मी तैनाथ (फोटोफिचर)



काठमाडौं, ४ साउन । काठमाडौंस्थित न्यूरोड क्षेत्रको फुटपाथ विस्तार कार्यमा स्थानीयले अवरोध गरेका छन् । फुटपाथ बढाउँदा रोड सानो हुने र सवारी आवागमनमा समस्या आउने भन्दै स्थानीयहरु विरोधमा उत्रिएका हुन् ।

यसअघि फुटपाथ बढाउन लागेको काठमाडौं महानगरलाई सडक विभागले रोकेको थियो । फुटपाथ बढाउनका लागि महानगरले भत्काएको रोडसमेत सडक विभागले पिच गरिसकेको थियो । सडक विभागको विरुद्धमा उच्च अदालत गएको महानगरले अन्तरिम आदेश पाएसँगै फुटपाथ बढाउने बाटो खुलेको थियो ।

अन्तरिम आदेश पाएको भोलिपल्टदेखि नै फुटपाथ बढाउने काम सुरु गरेको महानगरलाई अन्ततः स्थानीयले अवरोध गरेका छन् । स्थानीयहरु फुटपाथ विस्तारको विरोधमा उत्रिएपछि नगरप्रहरी र नेपाल प्रहरी गरी सयौंको संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।

सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ ३ मिटरको हुनुपर्ने व्यवस्था रहेको छ । सोही मापदण्डलाई टेकेर महानगरप्रमुख बालेन्द्र शाहले फुटपाथ विस्तारको काम अगाडि बढाएका थिए । सडक विभागको मापदण्डअनुसार फुटपाथ बनाउन लाग्दा हस्तक्षेप भएसँगै उनी आक्रोशित समेत भएका थिए । फोटोः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्