Logo

पावरप्लेमा ३ विकेट गुमाएर यूएईले जोड्यो ३८ रन, दबाबमा राख्दै नेपाल



काठमाडौं,४ साउन । श्रीलंकामा आजबाट सुरु भएको नवौं संस्करणको एसीसी एसिया कप टी-२० महिला क्रिकेटको पहिलो खेलमा नेपालले यूएईविरुद्ध सुरुवातमा फिल्डिङ गरिरहेको छ ।

श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर बलिङ गरिरहेको नेपालले तेस्रो विकेट निकालेको छ । खेलको ५।३ अ‍ोभरमा नेपालले ओपनर थ्रेता सतिसालाई आउट गराएको हो । कप्तान इन्द्र वर्माको बलमा सतिसा आउट भएकी हुन् । उनी १२ बलमा ९ रन जोडेर खेलिरहेकी थिईन् ।

त्यसअघि यूएईले पहिलो विकेटका रूपमा कप्तान एसा ओजालाई गुमाएको थियो । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । सबनम राईले फालेको पाँचौँ बलमा ओजा रन लिन दौडिएकी थिइन् । तर, बल फिल्डरको हातमा पुगेपछि उनी पुनः फर्किएकी थिइन् । 

यूएईले दोस्रो विकेटका रूपमा तेस्रो नम्बरकी ब्याटर रिनिथा रजिथलाई गुमाएको थियो । उनलाई नेपाली टोलीकी बलर सबनम राईले ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेकी थिइन् । ताजा अवस्थामा ६ ओभरमा यूएईले तीन विकेटको क्षतिमा ३८ रन जोडेको छ ।

इन्दु वर्माको कप्तानीमा रहेको नेपाली महिला टिमले यो प्रतियोगितामा तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल यसअघि सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।

खेल सूचीअनुसार नेपाल समूह ‘ए’मा छ । सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्यान्ड छन् ।

नेपाली टिममा कप्तान वर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस्