Logo

प्रचण्ड, माधव र रविलाई स्वार्थले एक ठाउँमा उभ्याएको छ, विश्वासको मत नदिएर केही फरक पर्दैनः एमाले नेता थापा



काठमाडौं, ५ साउन । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले प्रतिपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएर केही फरक नपर्ने बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत नदिँदैमा केही फरक नपर्ने बताएका हुन् ।

उनले प्रतिपक्षी तीन दल सिद्धान्त मिलेर एक ठाउँमा नउभिएको टिप्पणी गरे । नेता थापाले प्रतिपक्षी तीन दललाई स्वार्थले एक ठाउँमा पुर्याएको र स्टन्टबाजहरु मिलेको टिप्पणी गरे । ‘उहाँहरु तीन वटा पक्ष एक ठाउँमा हुनुहुन्छ । उहाँहरु सिद्धान्त मिलेर एक ठाउँमा हुनुभएको होईन, स्वार्थले हुनुहुन्छ । उहाँहरुका स्टन्टबाजी एक ठाउँमा मिलेका छन् । विश्वासको मत नदिएर सरकारलाई केही फरक पर्दैन । उहाँहरुको कारणले सरकार बनेको पनि होईन,’– उनले भने ।

साथै,अहिले एमालेको मात्रै सरकार नभएको उनले बताए । मिलिजुली सरकार रहेको अवस्थामा एमालेको मार्गदर्शन प्रधानमन्त्री ओलीलाई हिजो हस्तान्तरण गरिएको उनले बताए । महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीलाई सुझावपत्र हस्तान्तरण गरेको उनले बताए । सत्ता साझेदार अन्य दलहरुबाट पनि प्रधानमन्त्रीलाई सुझाव आउने र सोही आधारमा सरकारको साझा नीति कार्यक्रमलाई गाइडलाइन गर्ने उनले बताए ।

सहकारी ठगी प्रकरण छानविनका लागि बनेको संसदीय विशेष समितिको सभापतिसमेत रहेका थापाले समितिको काम तीब्र गतिले भइरहेको बताए । उनले अहिले आफूहरु जानकारी लिने चरणमा नै रहेको विभिन्न निकायहरुबाट जानकारी र सहयोग भइरहेको बताए । नेता थापाले टीओआरको अनुसूचीमा रहेका सबै सहकारीसँग सम्बन्धि कागजपत्र र प्रमाणहरु प्राप्त भइरहेको बताए ।

‘अहिलो हामी जानकारी लिने चरणमा छौं । गृहमन्त्रालय, सचिव, सुरक्षा निकायका प्रमुखहरु, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग, भन्सार विभागका प्रमुखसहित हामीले सहकारी विभागका रजिष्टार, प्रमुख हुँदै हिजो हामीले स्थानीय तह र प्रदेशका सहकारी क्षेत्र हेर्ने नियमक निकायका आधिकारीहरुलाई बोलाएर जानकारी लिएका छौं । अनुसन्धान, अनुसन्धान प्रतिवेदनलाई सुनेका छौं, प्राप्त गरेका छौं,’ उनले भने, ‘सबै सहकारीको तथ्यहरु प्राप्तिका चरणमा हामी अगाडि बढेका छौं । सबैले राम्रो सहयोग गर्नुभएको छ । हामी अनुशनस्थलमा चाहीँ गएका छैनौं । पीडितहरुका प्रतिनिधिलाई बोलाएर उहाँहरुको माग सुनेका छौं । अनशनमा समर्थन जनाउने काम हाम्रो होईन ।’ File Photo/RN



प्रतिक्रिया दिनुहोस्