Logo

उपसभामुख रानाले गरेको काम अपराध हो, अनुसन्धानको जिम्मा प्रहरीलाई दिइनुपर्छः पूर्व डीआईजी मल्ल (भिडिओसहित)



काठमाडौं, ५ साउन । नेपाल प्रहरीको पूर्व डीआईजी हेमन्त मल्ल ठकुरीले प्रतिनिधि सभाकी सभामुख इन्दिरा रानाले पदको दुरुपयोग गरेर गम्भीर अपराध गरेको आरोप लगाएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले उपसभामुख रानाले गरेको काम मानव तस्करी नै रहेको दाबी गरेका हुन् । उपसभामुख रानाले हिजो विज्ञप्तिमार्फत आफ्नो धारणा राख्न खोजेपनि आफूले गरेको अपराध झनै पुष्टि भएको उनले बताए ।

‘उपसभामुख भनेको सानो मान्छे होईन, संवैधानिक परिषद्को सदस्य पनि हो । एउटा त नैतिकताको कुरा छ । उहाँले जुन किसिमको काम गर्नुभएको छ, त्यो अपराध हो । त्यो अपराध नै हो, किनकी उहाँले जतिचोटी बोलिराख्नु भएको छ, अलग–अलग कुरा बोलिराख्नु भएको छ । यो मानव तस्करी नै हो, होईन भनेर कसैले भन्नै सक्दैन,’– उनले भने ।

पूर्व डिआईजी ठकुरीले उपसभामुख रानाले पदबाट राजीनामा दिनु उचित हुने बताए । उपसभामुख रानाले पदबाट राजीनामा दिएर उनीमाथि अनुसन्धान गर्ने जिम्मा नेपाल प्रहरीलाई दिइनुपर्ने बताए । उनले यस विषयमा संसदीय समिति वा छानविन समिति गठन गर्न नहुने र त्यो आवश्यक नरहेको बताए । छानविन समितिले दोषीहरुलाई बचाउने उनको भनाइ छ ।

‘हिजोको विज्ञप्ति पनि मैले हेरेँ । विज्ञप्तिले झन उहाँले गरेको गल्तीलाई प्रमाणित गरेको छ । उहाँले नैतिकताको आधारमा पद छोड्नुपर्छ । मानव तस्करीसँग जोडिएकाले यो अपराध हो । प्रहरीलाई अनुसन्धनको जिम्मा दिनुपर्छ,’– उनले भने ।

अमेरिकी भिसा प्रकरणमा विवादमा मुछिएकी रानामाथि राजीनामाको लागि दवाब बढिरहेको छ । उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्ल्यू ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वार्ताको मिति मिलाइदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिईन् । उक्त पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको व्यापक आलोचना भइरहेको छ । विभिन्न राजनीतिक दलका नेताहरुले उनको राजीनामा माग गरिरहेका छन् । File Photo/RN



प्रतिक्रिया दिनुहोस्