Logo

रास्वपाबारे एमाले नेता थापाको टिप्पणीः ‘जान्नेलाई छान्ने’ नाराबाट चुनाव जितेका साथीहरु केही पनि नजान्ने



काठमाडौं, ५ साउन । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले ‘जान्नेलाई छान्ने’ नारा लिएर निर्वाचित भएको राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु केही पनि नजान्ने रहेको टिप्पणी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाका नेताहरु प्रश्नैप्रश्नले घेरिएका र उनीहरुले आफूलाई थाहा थिएन भनिरहेको बताएका हुन् ।

रास्वपाका सभापति रवि लामिछानेले सहकारीबाट ऋण लिएर टीभीमा लगानी गर्न पाइँदैन भन्ने कुरा थाहा थिएनन् भनी अभिव्यक्ति दिएका थिए । त्यस्तै,रास्वपाबाट समानुपातिक सांसद बनेकी प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई भिसा सिफारिस गर्न पत्र लेख्न हुँदैन थियो भन्ने आफूलाई थाहा नभएको भनी हिजो अभिव्यक्ति दिएकी थिईन् । उनीहरुको अभिव्यक्तितर्फ लक्षित गर्दै नेता थापाले यस्तो टिप्पणी गरेका हुन् । नेता थापाले उपसभामुख रानाले गल्ती गरिसकेको बताउँदै कानुनबमोजिम कारबाही हुनुपर्ने बाए । उपसभामुख रानाले दया र करुणाको कुरा गरेको बताउँदै नेता थापाले राज्य दया र करुणाले भन्दा पनि कानुनले चल्नुपर्ने बताए ।

‘अब उपसभामुख भन्नुस्, अथवा रविजी भन्नुस् । राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरुले यस्ता विषयमा प्रश्न उठ्ने अवस्था सिर्जना गर्न नपर्ने हो । पुराना पार्टीले जानेन्, हामी जान्ने हो । जान्नेलाई छान्नुस् भनेर उहाँहरु आउनु भएको हो । कानुनबमोजिम गरेको गल्ती माफी पाइँदैन । कानुनमा अनविज्ञ छु भनेर गल्तीमा क्षमा पाइँदैन । उपसभामुखज्यूले कुन परिस्थितिमा गर्नुभयो ? को–को मान्छे हुन् तिनीहरु ? उहाँले करुणा, दयाको कुरा पनि गर्नुभएको छ । राज्यका निकायले करुणा, दयामा भन्दा पनि कानुन बमोजिमको काममा ध्यान दिनुपर्छ,’– उनले भने ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने, इलिगल बाटो अमेरिका पठाउनेलगायतका गतिविधि भइरहेको बेला उपसभामुखजस्तो मान्छेले नै आफूसँग अमेरिका लैजान सिफासिर गर्नु गलत रहेको बताए ।

‘उहाँको दया, माया, करुणा कता छचल्कियो भन्ने चाहीँ जनताको चोसोको विषय होईन । उहाँको चालचल सुहाउँदो हुनुपर्छ । उहाँले जवाफदेहिता लिनुपर्छ । जान्नेलाई छान्ने नारा लगाएर चुनाव जितेर आएका साथीहरुले केही पनि नजान्ने, यता पनि नजान्न, उता पनि नजान्ने । नागरिकता त्यागेर फेरि लिनुपर्छ भन्ने पनि नजान्ने, पासपोर्ट सन्दर्भमा पनि जानकारी गराउन समयमा नजान्ने,’– उनले भने ।

उनले उपसभामुख रानाविरुद्ध राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी परेको र त्यो छानविन हुनुपर्ने बताए । उजुरीमा हालेको हिसाबले हेर्दा उपसभामुख रानाले धेरै गडबड गरेको हुनसक्ने उनले आशंका व्यक्त गरे । ‘उनीहरुले उजुरी हालेको हिसाबले हेर्ने हो भने त्यहाँ अरु–अरु कैफियत पनि देखापर्छन् । राज्य व्यवस्था समितिमा उजुरी आएका छन् । उहाँको काम पदको गरिमाअनु्सार हु्नुपर्छ । ‘जान्नेलाई छान्ने’ यो कुरा मिलेन,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्