Logo

कांग्रेस-एमाले गठबन्धन सरकार तानाशाही बन्नुपर्ने कारण नै छैनः मन्त्री शाही



काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार तानाशाही बन्नुपर्ने कुनै कारण नरहेको बताएका हुन् । सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर अगाडि बढ्ने उनको भनाइ छ ।

‘सरकार तानाशाही बन्नुपर्ने कुनै कारण नै छैन । दुईवटा पार्टीको विशेष पहलबाट लोकतन्त्र आएको छ, गणतन्त्र आएको छ । बरु यो सरकारले लोकतन्त्रलाई सुदृढ बनाउने, गणतन्त्रलाई संस्थागत गर्ने र यसमा भएका कमीकमजोरी सुधार गरेर जनताको समस्या समाधान गर्ने मुख्य उद्देश्य हो,’– मन्त्री शाहीले भने ।

मन्त्री शाहीले वर्तमान सरकार कांग्रेस–एमालेका शीर्ष नेताहरुले सुझबुझका साथ गठबन्धन बनाएको बताउँदै २०८४ को निर्वाचनसम्म यही गठबन्धन सरकार अगाडि बढ्ने दाबी गरे । उनले सरकार फेरबदलबाट जनता हैरान भइसकेको बताउँदै कांग्रेस–एमाले गठबन्धन अन्तिम विकल्प रहेको बताए ।

‘यो सरकारले पूर्ण रुपमा राजनीतिक स्थायित्व दिन्छ । बीचमा तलमाथि हुने प्रश्नै आउँदैन । यो अन्तिम विकल्प हो । धेरै विकल्पहरु प्रयोग भइसके । जनता सरकार फेरबदलको खेलले आजित भइसकेको अवस्था छ । त्यसकारणले आम जनताको चाहना र भावना दुई दल मिलेर राजनीतिक स्थायित्व दिनुपर्छ भन्ने थियो । दुई दलका शीर्ष नेतृत्वले यो कुरा महसुश गरेर सहमति गरेको हुनाले यो सरकार पूरा अवधि अगाडि बढ्छ भन्नेमा हामी विश्वस्त छौं,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्